नेपालले सिरिज खेल्ने पक्का, यो मैदानमा हुनेछन् म्याच

काठमाडौं- आईसीसी विश्वकप लिग-२ अन्तर्गतको नेपालले खेल्ने त्रिकोणात्मक सिरिज स्कटल्याण्ड बाहिर हुने भएको छ ।

कोरोना महामारीको कारण नेपाल, स्कटल्याण्ड र नामिबियाबीचको एकदिवसीय सिरिज स्पनेमा हुने भएको हो ।

यो सिरिज जुलाईमा हुने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । क्यानका अध्यक्ष चतुरबहादुर चन्दका अनुसार सिरिज जुलाई तेस्रो साता स्पेनमा हुनेछ ।

यद्यपि, त्यहाँको स्थानीय सरकारबाट भने स्वीकृति लिन बाँकी रहेको चन्दले बताए ।

तस्बिर : कान्तिपुर

उनले भने, ‘क्वारेनटाइनको समय, खेलाडी संख्या, उडान तालिका, खेल तालिका, भिसा प्रकृया र तयारी कहाँ हुने भन्ने मात्र बाँकी छ । सोमबारसम्म सबै टुङ्गो लाग्छ ।’

सो सिरिजका लागि क्यानले छिट्टै बन्द प्रशिक्षणसमेत सुरु गर्ने बताइएको छ ।

आईसीसी विश्वकप लिग-२ सिरिज २०२३ फेब्रुअरीसम्म हुनेछ । सन् २०१९ देखि सुरु भएको विश्वकप लिग–२ सिरिजमा नेपालले हालसम्म एक मात्र श्रृंखला खेल्न पाएको छ ।

नेपालले गएको वर्ष कीर्तिपुरस्थित टियू ग्राउन्डमा ओमान र अमेरिकाविरुद्ध खेलेको थियो । सो सिरिजमा नेपालले ओमानसँग हारको सामना गर्दा अमेरिकासँग भने दुवै खेलमा विजयी भएको थियो ।

नेपाल, स्कटल्याण्ड र नामिबियाबीचको सिरिज अल्मेरियास्थित डेजर्ट स्प्रिंग्स क्रिकेट मैदानमा हुनेछ । यो मैदानलाई आईसीसीले ओडीआई मान्यता दिइसकेको छ ।

यो ग्राउन्डमा इंग्ल्यान्डका चर्चित काउन्ट्री क्लबहरूले अभ्यास गरिसकेका छन् ।

Loading...