अन्तर्राष्ट्रिय क्रिकेटका यी ३ हिरो : जो आईपीएलमा भने ‘फ्लप’ भए

कठमाडौं- १३औँ सिजनको आईपीएल सकिँदा कयौँ अनुभवी खेलाडीले यो लिगमा सहभागिता जनाइसकेका छन् । अहिले पनि आईपीएल खेल्नका लागि अक्सनमा भाग लिने अनुभवी खेलाडीको संख्या कम भएको छैन ।

सुरुवात सिजनमा पाकिस्तानी क्रिकेटरले पनि आईपीएलमा सहभागिता जनाएका थिए । तर, हाल भने भारतसँगको सीमा तथा राजनीतिक विवादका कारण पाकिस्तानले आफ्ना खेलाडीलाई आईपीएल खेल्न अनुमति दिने गरेको छैन ।

आईपीएलमा कयौँ युवा तथा अनुभवी खेलाडीले उत्कृष्ट प्रदर्शन गरेको विगत छ । धेरै खेलाडीका लागि त आईपीएल आफूभित्र भएको क्षमता देखाएर विश्व क्रिकेटमा चम्किँने थलो पनि बनेको छ । तर, केही खेलाडीको लागि आईपीएल यात्रा सम्झनलायक रहेन सकेको छैन ।

यसैबीच, आज विश्वक्रिकेटमा शानदार प्रदर्शन गरे पनि आईपीएलमा भने सम्झनलायक प्रदर्शन गर्न नसकेका तीन ब्याट्सम्यानको चर्चा गर्दैछौँ :

चेतेश्वर पुजारा : चेतेश्वरले किंग्स इलावेन पञ्जाब, कोलकाता नाइट राइडर्स (केकेआर) र रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी)बाट आईपीएल खेलिसकेका छन् ।

पुजाराले आईपीएलमा ३० म्याच खेलेका छन् । जसमा उनले ३९० रन मात्र बनाएका छन् । टी-२० मा पनि सुस्त गतीका कारण ब्याटिङ गर्ने भएकाले उनलाई टिममा अनुबन्ध गर्न आईपीएल टिम खासै चासो देखाउने गरेका छैनन् ।

विश्व क्रिकेटमा चर्चा कमाएका पुजाराको आईपीएल करियर भने खासै उत्कृष्ट बन्न सकेको छैन । तर, उनले अक्सनमा नाम दर्ता भने गर्न छाडेका छैनन् । यो पटक पनि पुजाराले ५० लाख भारु न्यूनतम मूल्य (बेस प्राइस) राखेर अक्सनमा नाम दर्ता गरेका छन् ।

पुजाराले हालसम्म आईपीएलमा एक अर्धशतक मात्र बनाउन सकेका छन् । आईपीएलमा उनको उच्च स्ट्राइक रेट १०९.६७ हो ।

टेष्ट क्रिकेटमा भने पुजाराको प्रदर्शन उच्च नै रहने गरेको छ । उनले ८२ टेष्ट खेल्दा १८ शतक र २९ अर्धशतकको मद्दतमा ६ हजार १९९ रन बनाइसकेका छन् ।

माइकल क्लार्क : माइकल क्लार्क विश्व क्रिकेटका चर्चित खेलाडीमध्ये एक हुन् । अष्ट्रेलियाका पूर्वकप्तानसमेत रहेका उनले सन् २०११ म पुणे वारियर्सका लागि आईपीएल खेलेका थिए ।

क्लार्कले आईपीएलमा ६ म्याच खेल्दा ९८ रन मात्र बनाउन सके । जसमा उनको उच्च स्कोर ४१ रन थियो । क्लार्कले आईपीएलमा एक छक्का पनि प्रहार गर्न सकेनन् ।

बलिङमा क्लार्कले दुई विकेट लिएका थिए । विश्व क्रिकेटको कुरा गर्ने हो भने उनले ११५ टेष्टमा २९ शतक र २७ अर्धशतकको सहयोगमा ७ हजार ६४३ रन बनाएका छन् ।

साथै, उनले अष्ट्रेलियाका लागि २४५ वानडेमा ५८ अर्धशतक र आठ शतकको मद्दतमा ७ हजार ९ सय ८१ रन बनाएका छन् । विश्व क्रिकेटमा शानदार करियर बनाएका क्लार्कले आईपीएलमा भने सम्झनलायक प्रदर्शन गर्न सकेनन् ।

सौरभ गांगुली : भारतीय टिमका पूर्वकप्तान सौरभ गांगुलीको आईपीएल करियर पनि उत्कृष्ट रहन सकेन । उनले आईपीएलमा कोलकाता नाइट राइडर्स (केकेआर) र पुणे वारियर्सबाट खेलेका थिए ।

गांगुलीले आईपीएलमा ५९ म्याच खेल्दा १ हजार ३४९ रन मात्र बनाउन सके । यसक्रममा उनको स्ट्राइक रेट १०७ थियो । विश्व क्रिकेटमा भने गांगुली चर्चित नाम हो ।

उनले भारतका लागि ३११ वानडेमा ७२ अर्धशतक र २२ शतकसहित ११ हजार ३६३ रन बनाएका छन् । त्यस्तै, उनले ११३ टेष्टमा १६ शतक र ३५ अर्धशतकका साथ ७ हजार २१२ रनको योगदान दिए ।

Loading...