ब्रेट लीको नजरमा यी हुन् अहिलेका उत्कृष्ट दुई क्रिकेटर

काठमाडौं- अष्ट्रेलिया क्रिकेट टिमका पूर्वतीव्र गतिका बलर ब्रेट लीले वर्तमान समयका उत्कृष्ट दुई खेलाडीको बारेमा बताएका छन् ।

उनले भारतीय टिमका कप्तान विराट कोहली र अष्ट्रेलियाका तीव्र गतिका बलर प्याट कमिन्स वर्तमान समयका उत्कृष्ट क्रिकेटर रहेको बताएका हुन् ।

आईसीसीको एक अन्तर्वार्ताका क्रममा लीले वर्तमान समयका आफ्ना उत्कृष्ट दुई खेलाडीको नाम भनेका हुन् ।

‘वर्तमान समयमा विराट कोहलीलाई नछानेर अरू छान्नु निकै मुश्किल हो । उनीसँग धेरै अविश्वसनीय रेकर्ड छन्,’ लीले भनेका छन्, ‘विराट बढ्दो उमेरसँगै झन् उत्कृष्ट हुँदै गएका छन् । उनीसँग एक महान क्रिकेटसँग हुने लक्षण छन् ।’

कोहलीले २२ हजार बढी अन्तर्राष्ट्रिय रन बनाइसकेका छन् । वर्तमान समयमा सक्रिय क्रिकेटरको रूपमा उनी नै सर्वाधिक रन बनाउने ब्याट्सम्यान हुन् ।

दायाँ हाते ब्याट्सम्यान कोहलीले ७० अन्तर्राष्ट्रिय शतक बनाइसकेका छन् । उनी यही १८ जुनमा आईसीसी टेष्ट च्याम्पियनशिपको फाइनल खेल्ने इंग्ल्याण्डमा छन् ।

भारतले १८ जुनदेखि २२ जुनसम्म न्यूजिल्याण्डसँग फाइनल म्याच खेल्दैछ ।

त्यस्तै, लीले वर्तमान समयमा उत्कृष्ट बलर प्याट कमिन्सको बारेमा पनि आफ्नो प्रतिक्रिया दिएका छन् ।

‘वर्तमान समयमा मेरो प्रमुख रोजाईको बलर प्याट कमिन्स हुन् । धेरैलाई लाग्न सक्छ अष्ट्रेलियाको खेलाडी भएकाले कमिन्सलाई उत्कृष्ट बलर भन्यो भनेर । उनी उत्कृष्ट बलर त हुन् नै कमिन्स मेरो पूर्वसाथी पनि हुन्,’ लीले भनेका छन् ।

लोकप्रिय बलर कमिन्सले हालसम्म ६९ वानडेमा १११, ३४ टेष्टमा १६४ र ३० टी-२० म्याचमा ३७ विकेट लिएका छन् ।

उनी वर्तमान समयमा विश्वकै उत्कृष्ट बलरमध्ये एक हुन् ।

Loading...