यी ५ चर्चित क्रिकेटर : जसले टी-२० विश्वकपको एक खेलमा धेरै रन बनाए

काठमाडौं- आईसीसी पुरुष टी-२० विश्वकप यही वर्ष (२०२१) मा भारतमा हुँदैछ । आईसीसी विश्वकप टी-२० गत वर्ष अष्ट्रेलियामा हुने भनिएको थियो । तर, कोरोना भाइरसका कारण रद्द हुन पुग्यो ।

सन् २०२१ को टी-२० विश्वकप भारतमा भए पनि सन् २०२२ को चाहिँ अष्ट्रेलियामा हुने भएको छ । हालसम्म भएको टी-२० विश्वकपमा १९ टिमले सहभागिता जनाइसकेका छन्।

नेपालले पनि टी-२० विश्वकप खेलिसकेको छ । नेपालले सन् २०१४ मा भएको विश्वकप खेलेको थियो । जहाँ नेपालले तीन म्याच खेल्दा २ मा जित र एक खेलमा पराजय ब्यहोरेको थियो । तर, नेपाल त्यसपछि भएका विश्वकपमा भने छनोट हुन सकेको छैन ।

२०१६ को विश्वकपसम्म आइपुग्दा विभिन्न टिम तथा खेलाडीले केही कीर्तिमान आफ्नो नाममा लेखाइसकेका छन् । यसैबीच आज विश्वकप २०१६ सम्म एक इनिङ्समा सर्वाधिक रन बनाउने ५ क्रिकेटरको बारेमा जानकारी दिँदैछौँ :

५. तमिम इकबाल : बंगलादेश क्रिकेट टिमका विस्फोटक ब्याट्सम्यान तमिमको नाम यो सूचीमा पाँचौ स्थानमा आउँछ।

उनले १३ मार्च २०१६ को विश्वकप म्याचमा ओमानविरुद्ध ६३ बलमा १० चौका र ५ छक्का हिर्काउँदै अविजित १०३ रन बनाएका थिए ।

४. अहमद शेहजाद : पाकिस्तानी क्रिकेटर शेहजादले २०१४ मा भएको विश्वकपमा बंगलादेशविरुद्ध उत्कृष्ट ब्याटिङ गरे।

उनले उक्त विश्वकप म्याचमा ६२ बलमा १० चौका र ५ छक्का प्रहार गर्दै नटआउट १११ रन बनाएका थिए। शेहजाद टी-२० विश्वकपमा उच्च व्यक्तिगत रन बनाउने खेलाडीको सूचीमा चौथो स्थानमा छन्।

३. एलेक्स हेल्स : इंग्ल्याण्ड टिमका विस्फोटक ब्याट्सम्यान हेल्सले २०१४ को विश्वकपमा शानदार प्रदर्शन गरेका थिए।

 

उनले सो विश्वकपमा श्रीलंकाविरुद्ध ६४ बलमा ११ चौका र ६ छक्का प्रहार गर्दै अविजित ११६ रनको इनिङ्स खेलेका थिए। हेल्स विश्वकपमा एकै म्याचमा सर्वाधिक रन बनाउने सूचीमा तेस्रो स्थानमा छन्।

२. क्रिस गेल : टी-२० विश्वकपको एकै म्याचमा सर्वाधिक रन बनाउने सूचीमा वेष्ट इन्डिजका विस्फोटक ब्याट्सम्यान क्रिस गेलको नाम दोस्रो नम्बरमा आउँछ।

उनले २००७ को विश्वकपमा दक्षिण अफ्रिकाविरुद्ध ५७ बलमा १० छक्का र ७ चौका प्रहार गर्दै ११७ रन बनाएका थिए।

१. ब्रेण्डन म्याक्लम : न्यूजिल्याण्ड टिमका पूर्वकप्तान म्याक्लमले २०१२ मा भएको विश्वकपमा शानदार ब्याटिङ गरेका थिए।

उनले उक्त विश्वकपमा बंगलादेशविरुद्ध ५८ बलमा ७ छक्का र ११ चौका हिर्काउँदै १२३ रनको विस्फोटक इनिङ्स खेलेका थिए। टी-२० विश्वकपमा एकै इनिङ्समा सर्वाधिक रन बनाउने कीर्तिमान म्याक्लमको नाममा छ।

Loading...