नोर्टजेको बल टाउकोमा लाग्दा वेष्ट इण्डिजका ब्याट्सम्यान घाइते

काठमाडौं : वेष्ट इण्डिजका प्रमुख ब्याट्सम्यान नकरुम्हा बोन्नर घाइते भएका छन्। दक्षिण अफ्रिकाविरुद्ध पहिलो टेस्ट खेलको क्रममा उनी घाइते भएका हुन्।

ब्याटिङ गर्ने क्रममा दक्षिण अफ्रिकाका तीव्र गतिका बलर एनरिक नोर्टजेको बल उनको टाउकोमा लागेको वेष्ट इण्डिज क्रिक्रेट बोर्डले जानकारी दिएको छ। बोर्डका अनुसार टाउकोमा बल लागेर घाइते भएपछि उनले फिल्डिङ गरेनन्।

बोन्नर वेष्ट इण्डिजका लागि तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका थिए। तर, नोर्टजेले प्रहार गरेको बल उफ्रिएर उनको हेलमेटमा लागेको थियो। यस पछि उनले दक्षिण अफ्रिकाविरुद्ध फिल्डिङको बेला किरन पावेललाई आफ्नो स्थानमा ‘कन्ससन रिप्लेस’ गरे।

ब्याटिङ गर्ने क्रममा पहिलो बल नै टाउकोमा लागेको थियो। तर, पनि उनले ब्याटिङ गर्न छोडेनन्। र, ३२ बलको सामना गर्दै १० रन बनाए। कागिसो रबाडाले उनलाई आउट गरे। वेष्ट इण्डिजका र दक्षिण अफ्रिकाबीचको पहिलो टेस्ट खेल सेन्ट लुसियाको डेरेन स्यामी राष्ट्रिय क्रिकेट स्टेडियममा बिहीबारबाट सुरु भएको छ।

पहिलो दिन वेष्ट इण्डिजले खराब प्रदर्शन गर्‍यो। टस जितेर पहिले ब्याटिङ गर्दै वेष्ट इण्डिज ९७ रनमा समेटियो। उसका लागि सलामी जोडी कप्तान ब्रेथवेट र शाई होपले समान १५–१५ रन बनाए।

मध्य क्रमका ब्याट्सम्यानहरू सबै फ्लप भए। जेसन होल्डरले २० रन बनाए। तर, उनले ठूलो इनिङ्समा रूपान्तरण गर्न सकेनन्। यसबाहेक रहकिम कर्नवालले १३ रन बनाए।

दक्षिण अफ्रिकाका एनरिक नोर्टजेले ३५ रन दिएर ४ विकेट हात पारे। लुंगी एनगिडीले १९ रन दिएर ५ विकेट लिए। जवाफमा दक्षिण अफ्रिकाले ४ विकेट गुमाएर १२८ रन बनायो।

Loading...