पुबुदुसहित यी व्यक्ति हुन् सन्दीपको सफलताका सारथि

काठमाडौं : सन्दीप लामिछाने नेपाली क्रिक्रेट टीमका महत्वपूर्ण बलर हुन्। उत्कृष्ट बलिङ गर्नुबाहेक उनले गीत पनि बजारमा ल्याइसकेका छन्।

सुन्दर कला र गलाका धनी लामिछाने अहिले स्वदेशमा मात्रै नभएर विदेशमा पनि चर्चाको शिखरमा छन्। उमेर समूहबाट नेपाली क्रिकेटमा चम्केका सन्दीपले भारतकै चर्चित लिग इन्डियन प्रिमियर लिग (आइपीएल) समेत खेलिसकेका छन्।

आईपीएलमा समेत आफ्नो जादुमय खेल देखाएका उनी एकएक विश्वसामु परिचित भए। लामिछानेले विश्वका अन्य चर्चित लिगहरू बिग बास लिग (बीबीएल) पाकिस्तान सुपर लिग (पीएसएल), बंगलादेश प्रिमियर लिग (बीपीएल), ग्लोबल क्यानडा लिग, क्यारेबियन प्रिमियर लिग (सीपीएल), अफगानिस्तान प्रिमियर लिग (एपीएल), आबधाबी टी-१० लिगलगायत थुप्रै विदेशी प्रतियोगिता खेलिसकेका छन्।

सन्दीपको जन्म स्याङ्जामा १८ साउन, २०५७ भएको थियो। तर, उनको खेल जीवनको यात्रा भने चितवनको क्याम्पाचौरबाट सुरु भयो ।

स्याङ्जाबाट बाल्यकालमै बुबा चन्द्रनारायण लामिछानेसँग भारत पुगेका सन्दीपमा त्यहीँबाट क्रिकेटको रस बस्यो।

त्यसपछि नवलपरासी आएर क्रिकेट खेललाई निरन्तरता दिए। सन्दीपको क्रिकेट खुबीप्रति परिवारलाई थाहा भएपछि नवलपरासी छोडेर चितवन पठाइए। कक्षा चारमा पढ्दाबाटै क्रिकेटमा चासो लिएका सन्दीपले प्रशिक्षण चाहिँ नेपाल पर्किएपछि मात्रै सुरु गरे।

चितवनमा हुँदा नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान राजु खड्काबाट प्रशिक्षण लिएका सन्दीप बताउँछन् । उनी पहिलो पटक अन्डर–१९ टीमका लागि ट्रायल दिँदा असफल भएका खेलाडी हुन् । पहिलो पटक ट्रायल दिँदा टिममा पर्न उनी सफल भएनन्।

त्यतिबेला उनी निकै दुःखी थिए। तर, त्यति बेला अन्डर-१९ टिममा छनोट नहुँदाको ‘इख’ मनमा नै राखेका उनले कडा मिहिनेत गरे । र, अर्को वर्ष उनले पुन: ट्रायल दिए। राजुपछि सन्दीपको क्रिकेट करियर चम्काउन प्रशिक्षक पुबुदु दासानायकेको ठूलो हात छ । पुबुदु एक दिने प्रशिक्षणको क्रममा चितवन पुगेका थिए।

उनको बलिङ पुबुदुको नजरमा पर्‍यो । त्यसपछि त सन्दीप आईसीसी विश्व क्रिकेट लिगको यूएईमा हुने प्रतियोगिताको लागि छनोटमा परिहाले। त्यतिबेलाका प्रशिक्षक पुबुदुले उनलाई सिधैं राष्ट्रिय टिमको क्याम्पमा बोलाएका थिए।

सन् २०१६ मा पहिलो पटक उनले राष्ट्रिय टिममा डेब्यू गर्दा सबैजना चकित थिए। त्यतिबेला सन्दीप १६ वर्षका थिए। तर, उमेरले सानै भए पनि उनले नेपाली क्रिकेटको इतिहासमा स्वर्णिम अक्षरले आफ्नो नाम लेखाउन सफल भए।

उनी आईपीएलमा व्यावसायिक क्रिकेट खेल्ने पहिलो नेपाली क्रिकेटरसमेत बन्न पुगे। छोटो समयमा नै एकाएक राष्ट्रिय टोलीको अभिन्न अंग बनेका सन्दीप यू-१९ टिमको कप्तान पनि बने।

 

उनले हङकङ ब्लिट्जजस्तो व्यावसायिक प्रतियोगिता खेल्न पनि सफल भए । हङकङमा खेल्दा अष्ट्रेलियाका पूर्वकप्तान माइकल क्लार्कजस्ता केही खेलाडीको नजरमा उनी परेपछि अष्ट्रेलिया गए ।

अस्ट्रेलियामा उनले ‘ए’ ग्रेडको प्रतियोगिता खेले र विश्वकै ठूलो व्यावसायिक क्रिकेट प्रतियोगिता मानिने आईपीएलमा समेत खेल्ने अवसर प्राप्त गरे।

यू-१९ विश्वकपमा उनले आयरल्याण्डविरुद्ध ह्याट्रिक विकेट लिन सफल भए । उमेर समूहमा पाँच जना क्रिकेटरले मात्र यो सफलता हात पारेका थिए ।

नेपाली ‘शेन वार्न’को उपनामले पनि उनी अहिले विश्व क्रिकेटमा परिचित छन् । उनको खेलबाट माइकल क्लार्क मात्र होइन आईपीएल टिम दिल्ली क्यापिटल्सका प्रशिक्षक रिकी पोन्टिङ पनि प्रभावित भए ।

सन् २०१८ को कुरा हो ।

आईपीएलमा अनुबन्ध भएको खुसी त थियो नै। यता राष्ट्रिय टिमबाट नामिबियामा आयोजित वर्ल क्रिकेट लिग डिभिजन-२ को प्रतियोगिता खेल्न पुगेका सन्दीप सर्वाधिक १७ विकेट लिएर फर्किएका थिए ।

प्रतियोगितामा कुनै ब्याट्सम्यानलाई पनि खुलेर खेल्न नदिएका सन्दीप ‘प्लेयर अफ दि’ सिरिज बनेका थिए।

यी सबै उपलब्धि एकैपटक हात पर्दा पनि मात्तिएका थिएनन् सन्दीप । नामिबियापछि विश्वकप छनोटका लागि जिम्बाब्वे पुगेका उनले भनेका थिए, ‘खेल यात्रा निकै लामो छ । त्यसैले आफूलाई शान्त राख्ने कोसिस गर्छु ।’

जिम्बाब्वेको प्रतियोगिताअघि सम्झिनै पर्ने कुरा अर्को पनि छ- ‘भ्यालेन्टाइन ब्वाइ’ विनिङ पार्टनरसिप ।

नेपाली क्रिकेट वृत्तमा करण केसीलाई ‘भ्यालेन्टाइन ब्वाइ’का रूपमा चिनिन्छ । करणले सन् २०१८ को भ्यालेन्टाइन डेको दिन क्यानडाविरुद्ध जुन अविश्वसनीय प्रदर्शन गरे । त्यही कारण नेपालले विश्वकप छनोट खेल्न पायो । र, नेपालले एकदिवसीयको मान्यता पनि पायो ।

तीन जित र एक हारका साथ चौथो स्थानमा थियो नेपाल । त्यो नेपालको अन्तिम खेल थियो । र, जित अत्यावश्यक थियो । ९ विकेट गइसकेपछिका बाँकी केही ओभरमा करणसँग सन्दीपले विनिङ रनको साझेदारी गरेका थिए ।

त्यो खेलमा सन्दीपले विकेट टिकाए भने करणले छक्का प्रहार गरे । अन्तिम ओभरमा चार बल डट खाएको नेपालले त्यसपछिका दुई बलमा ८ रन बनाउँदा क्रिकेट हेरेर बसिरहेका सबै नेपाली हर्षविभोर बनेका थिए । त्यसपछि नेपालले एकदिवसीय मान्यता पायोे।

टी-२० मा सय विकेट लिने पहिलो नेपाली खेलाडी

सय विकेटको कोशेढुंगा विरलैले पाउने सफलतामध्येको एक हो यो । जुन सन्दीपले डेढ वर्षअघि पार गरे । नेपाल २०७६ सालको अन्तिम प्रतियोगिता खेल्न थाइल्यान्ड पुगेको थियो ।

थाइल्याण्डको बैंककस्थित टेडथाई मैदानमा सन्दीपले तीन विकेट लिएसँगै टी–२० क्रिकेटमा सय विकेट पूरा गरे ।

सन्दीप नेपाली क्रिकेट इतिहासमा सबैभन्दा धेरै आम्दानी गर्ने खेलाडीको सूचीको शीर्ष स्थानमा पनि छन् । उनी क्रिकेट खेलेरै करोडपति बनिसकेका छन्।

आईपीएल खेले बापत उनले एक सिजनमा ३२ लाख नेपाली रुपैयाँ पारिश्रमिक लिएका थिए । त्यस्तै, ग्लोबल टी-२० क्यानडामा ४० हजार अमेरिकी डलर अर्थात् नेपाली ४३ लाख २० हजार रुपैयाँ लिए ।

क्यारेबियन प्रिमियर लिग (सीपीएल)मा ५ हजार अमेरिकी डलर अर्थात् ५ लाख ४० हजार लाख पारिश्रमिक लिएका थिए ।

साथै, सन्दीप अफगानिस्तान प्रिमियर लिग (एपीएल)बाट १५ हजार अमेरिकी डलर तथा केरलाबाट ३० हजार अमेरिकी डलर लिएका थिए ।

उनी अष्ट्रेलियाको बीबीएलमा लाखौँ रुपैयाँमा अनुबन्ध भइसकेका छन् । साथै, सन्दीपले इंग्ल्याण्डको ‘द हन्ड्रेड’मा हालसम्मकै महँगो मूल्य पाएका छन् ।

यो प्रतियोगितामा सन्दीप एक करोडभन्दा बढी मूल्यमा अनुबन्ध भएका छन् । यद्यपि उनले यो प्रतियोगिता खेल्न बाँकी छ । सन्दीप यो प्रतियोगिताका लागि केही दिनपछि इंग्ल्याण्ड जानेछन् ।

उनले विभिन्न कम्पनीको ब्रान्ड एम्बेस्डरबाट करोडभन्दा बढी रकम कमाएका छन् । योभन्दा धेरै उनले प्रशंसक कमाएका छन् ।

सन्दीपले खेलेका लिग 

 भारत : इन्डियन प्रिमियर लिग (आईपीएल)

अष्ट्रेलिया : बिग बास लिग (बीबीएल)

पाकिस्तान : पाकिस्तान सुपर लिग (पीएसएल)

वेष्ट इन्डिज :  क्यारेबियन प्रिमियर लिग

बंगलादेश : बंगलादेश प्रिमियर लिग (बीपीएल)

अफगानिस्तान प्रिमियर लिग (एपीएल)

यूएई : आबधाबी टी-१० लिग

क्यानडा : ग्लोबल टी-२० लिग क्यानडा

Loading...