द. अफ्रिकाविरुद्ध ९७ रनमै अलआउट भएपछि यस्तो भन्छन् वेस्ट इण्डिजका कप्तान

काठमाडौं- वेष्ट इण्डिजका कप्तान क्रेग ब्रार्थवेटले खराब ब्याटिङको बारेमा प्रतिक्रिया दिएका छन् ।

दक्षिण अफ्रिकाविरुद्धको पहिलो टेष्ट खेलको पहिलो इनिङ्समा ९७ रनमा अलआउट भएपछि ब्रार्थवेटले आफ्नो प्रतिक्रिया दिएका हुन्।

उनले पहिलो इनिङ्समा खराब प्रदर्शन गरे पनि दोस्रो पारीमा शानदार प्रदर्शन गर्ने दाबी गरे । ‘हामीले पहिलो इनिङ्समा धेरै खराब शटहरू खेलेका थियौं। तर, क्रिकेटमा यस्तो हुन्छ। सबै कुरा सही हुँदैन। हामी दोस्रो पारीमा राम्रो स्कोर खडा गर्नेछौं,’ उनले भने।

वेष्ट इण्डिज र दक्षिण अफ्रिकाबीचको पहिलो टेष्ट खेल सेन्ट लुसियाको डारेन स्यामी राष्ट्रिय क्रिकेट स्टेडियममा बिहीबारबाट सुरु भएको छ।

पहिलो दिन वेष्ट इण्डिजले खराब प्रदर्शन गरेको थियो। टस जितेर पहिले ब्याटिङ गर्दै वेष्ट इण्डिज ९७ रनमा समेटियो।

उसका लागि सलामी जोडी कप्तान ब्रार्थवेट र शाई होपले समान १५–१५ रन बनाए। मध्यक्रमका ब्याट्सम्यानहरू सबै फ्लप भए।

जेसन होल्डरले २० रन बनाए। तर, उनले ठूलो इनिङ्समा रूपान्तरण गर्न सकेनन्। यसबाहेक रहकिम कोर्नवालले १३ रन बनाए।

दक्षिण अफ्रिकाका एनरिक नोर्टजेले ३५ रन दिएर ४ विकेट हात पारे। लुंगी एनगिडीले १९ रन दिएर ५ विकेट लिए।

जवाफमा दक्षिण अफ्रिकाले ५ विकेट गुमाएर २०५ रन बनाइसकेको छ ।

Loading...