अझै तोडिएको छैन सोमपाल कामीको यो विश्वकीर्तिमान

काठमाडौं- नेपाली क्रिकेट टिमका अलराउन्डर सोमपाल कामीले सन् २०१४ मा टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरे।

उनले टी-२० विश्वकपअन्तर्गत हङकङविरुद्ध खेल्दै अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका हुन्।

त्यसयतादेखि सोमपाल नियमितरूपमा राष्ट्रिय टोलीबाट खेल्दै आइरहेका छन्। उनी हाल नेपाली टोलीका नियमित र महत्वपूर्ण सदस्य हुन्।

सोमपालले बलिङ, ब्याटिङ र फिल्डिङबाट नेपाललाई योगदान दिइरहेका हुन्छन्। फास्ट बलिङका साथै उनी आक्रामक ब्याटिङ पनि गर्न सक्छन्।

टी-२० अन्तर्राष्ट्रिय खेलमा दशौँ नम्बरमा ब्याटिङ गर्दै विश्व रेकर्ड बनाएका कामीले धेरै पटक नेपालको लागि उत्कृष्ट प्रदर्शन गरेका छन्। त्यसैमध्येको एक हो- सन् २०१४ मा हङकङमा बनाएको ४० रन।

सोमपालको मुख्य पहिचान बलिङ हो। तर, उनले त्यस खेलमा हङकङविरुद्ध ब्याटमार्फत शानदार प्रदर्शन गर्दै विश्व रेकर्ड बनाउन सफल भए।

फाइल तस्बिर

उक्त खेलमा नेपालले २५ रन हुँदा ८ विकेट गुमाइसकेको अवस्थामा सोमपाल ब्याटिङ गर्न आए। पारस खड्का, ज्ञानेन्द्र मल्ल, सुवास खकुरेललगायतका खेलाडी सस्तैमा आउट भए।

आठौं विकेटको रूपमा नेपालले वसन्त रेग्मीलाई पनि गुमाएपछि ब्याटिङ मैदान छिरे सोमपाल। त्यसपछि सोमपालले अन्तर्राष्ट्रियस्तरमा नेपालको ‘इज्जत’ बचाउँदै विश्व कीर्तिमान बनाए ।

यसरी बनाएका थिए ३१ बलमा ४० रन

१२औँ ओभरको अन्तिम बलको समाना गरेका सोमपालले पहिलो बलमा कुनै रन जोडेनन्। हङकङले १३औँ ओभरमा नदीम एहमदलाई बलिङमा ल्यायो।

नदीमको पहिलो दुई बललाई सोमपालले रक्षात्मक तरिकाले खेले। ओभरको तेस्रो बलमा बललाई उनले सीमारेखा पार गराउँदै खाता खोले। त्यस ओभरमा बाँकी तीन बलमा उनले रन लिएनन्।

१५औँ ओभर बलिङ गर्न आएको एजाज खानको पहिलो बलमा शक्ति गौचनले एक रन लिँदै सोमपाललाई क्रिजमा पुगाए।

त्यसपछि सोपालले तीनवटा डट बल खेल्दै ओभरको पाँचौ बलमा एक रन लिए। शक्तिले ओभरको अन्तिम बलमा रन बनाउन सकेनन्।

त्यसपछि १६औँ ओभरमा सोमपाल स्ट्राइकमा रहे। फेरि बलिङमा नदीम एहमद नै आए। १६औँ ओभरको पहिलो बलमा सोमपालले चौका हिर्काए।

त्यसपछि दोस्रो बल डट खेलेका उनले तेस्रो बलमा १ रन लिँदै शक्तिलाई स्ट्राइक दिए। शक्तिले बाँकी बलमा रन बटुल्न सकेनन्।

१७औँ ओभरको सामना गर्न पुनः सोमपाल स्ट्राइकमा आए। हङकङका कप्तान जेमी एट्किन्सनले १७औँ ओभरका लागि फास्ट बलर इरफान अहमदको हातमा बल थमाइदिए।

फाइल तस्बिर

इरफानको पहिलो २ बल रक्षात्मक खेले। त्यसपछि सोमपालले गेर परिवर्तन गरे। ओभरको चौथो बलमा चौका प्रहार गरी सोमपालले लगतै बलमा १ रन लिँदै स्ट्राइक परिवर्तन गरे।

१८औँ ओभरमा हसिब अम्जदको दोस्रो, तेस्रो र चौथो बललाई चौका प्रहार गरे। लगातार सोमपालले तीन चौका ३ चौका प्रहार गरेपछि नेपालको स्कोर १८ ओभरमा ८ गुमाउँदै ५६ रन पुग्यो।

त्यसबेला सोमपालले विश्वकीर्तिमान बनाइसकेका थिए। १८औँ ओभरको समाप्तिमा उनी २८ रन बनाएर ब्याटिङ गर्दै थिए। १९औँ ओभरमा सोमपालले इरफानलाई दुई छक्का हिर्काए।

त्यसपछि इरफान उत्कृष्ट ‘कमब्याक’ गर्दै छक्का बिर्साउने गरी सोमपालको स्टम्प उडाइदिए। ३१ बलमा ६ चौका र २ छक्का प्रहार गर्दै ४० रन बनाए भने नेपाललाई स्कोरमा समेटिनबाट जोगाएका थिए।

सोमपालकै ४० रनको मद्दतमा नेपालले ७२ रन बनाएको थियो। नवौं विकेटका लागि शक्ति गौचनसँग उनले ४३ रनको महत्वपूर्ण साझेदारी गरेका थिए।

सोमपालले बलिङमा पनि १ विकेट लिए तर उक्त खेल नेपालले अन्तिम बलमा २ विकेटले गुमाएको थियो। सोमपालको यो कीर्तिमान अझैं भंग भएका छैन। विश्व रेकर्ड बनाएको सातवर्ष भइसक्दा पनि यो कीर्तिमान तोडिएको छैन।

Loading...