मिलरले गरे चौका/छक्काको वर्षा, दिलाए टिमलाई फराकिलो जित

काठमाडौं- यूएईमा जारी पाकिस्तान सुपर लिग (पीएसएल) अन्तर्गत क्वेटा ग्लाडियटर्सविरुद्ध पेशावर जल्मी ६१ रनले विजयी भएको छ ।

जारी सिजनमा जल्मीको यो चौथो जित हो । क्वेटाको भने यो छैटौँ हार हो । उसले ७ म्याच खेल्दा एक खेलमा मात्र जित हासिल गरेको छ ।

आफ्नो सातौँ म्याचमा जल्मीले दिएको १ सय ९८ रनको लक्ष्य पछ्याएको ग्लाडियटर्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ३६ रन मात्र बनाउन सक्यो ।

उसका लागि कप्तान सरफराज अहमदले अविजित ३६, साइम अय्यूबले ३५, उश्मान खानले २८, ज्याक वेथरल्याण्डले १३ र खुर्रम शहजादले ११ रन बनाए ।

बलिङमा जल्मीका मोहम्मद इरफानले तीन, उमैद आशिफ, कप्तान वाहब रिजाले दुई/दुई र फाबियन आलेनले एक विकेट लिए ।

त्यसअघि, टस हारेर ब्याटिङको मौका पाएको पेशावरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ९७ रन बनायो ।

उसका लागि डेविड मिलरले ४६ बलमा चार छक्का र ६ चौकासहित ७३ रनको पारी खेले । त्यस्तै, कमरन अकमलले ५९, रोभम्यान पावेलले अविजित ४३ र शेरफन रदरफोर्डले १० रन बनाए ।

बलिङमा मोहम्मद नवाजले सर्वाधिक दुई विकेट लिए । यो जितसँगै पेशावर अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।

Loading...