सचिनले संन्यास लिँदा यसकारण रोएका थिए क्रिस गेल

काठमाडौं- युनिभर्सल बोसका रूपमा परिचित वेष्ट इन्डिजका क्रिकेटर क्रिस गेल जुनसुकै रंगशालामा सहजै चौका र छक्काको वर्षा गर्छन् ।

टी-२० मा गेलको नाममा रहेका रेकर्ड अद्वितीय नै छ । टी-२० फर्म्याटमा रमाउने यी ब्याट्सम्यान गेलको भनाइ मान्ने हो भने टेस्ट नै सबैभन्दा उत्तम खेल हो ।

टेस्टमा जस्तो मजा टी-२० र एकदिवसीय खेलमा नआउने उनी बताउँछन् ।

करिअरमा एक सय तीन टेस्ट खेलका गेलले अन्तर्वार्तामा आफू टेस्टमा रमाएको बताए । उनी भन्छन्, ‘पाँच दिनसम्म चल्ने खेलको मजा नै बेग्लै छ, ब्याट्सम्यान, बलर र फिल्डरले पूरै चार इनिङ्समा आफ्नो प्रतिभा देखाउन मौका पाउँछन् ।’

वेस्ट इन्डिज अलराउन्डर गेल टेस्टलाई चुनौतीले भरिएको खेलका रूपमा लिन्छन् ।

टेस्टमा सहभागी खेलाडीको बाहिरी जीवनसमेत सुधार र अनुशासित हुने उनको भनाइ छ । गेलले भने, ‘टेस्टमा धेरै चुनौतीका सामना गर्नुपर्छ, यसका खेलाडीले बाहिरी जीवनसमेत राम्रो बनाउन सक्छन्, अनुशासित जीवनको मजा नै टेस्ट खेलमा छ ।’

जीवनमा पर्न सक्ने मुस्किल अवस्थामा पनि यो खेलले सहयोग गर्ने उनले बताए ।

‘यस खेलले जीवन कसरी चलायनमान बनाउन सकिन्छ भन्ने ज्ञान दिन्छ,’ उनले भने, ‘लगातार पाँच दिनसम्म २२ खेलाडी विभिन्न पक्षसँग लडिरहेका हुन्छन्, जुन एक पाठ पनि हो ।’ टेस्टको राम्रो पक्षका रूपमा गेलले अनुशासन र धैर्य मानेका छन् । धैर्यता नभएका खेलाडीले टेस्ट करिअर लामो समयसम्म टिकाउन नसक्ने उनले बताए ।

गेल भन्छन्, ‘यस फर्म्याटमा आवश्यकता पर्ने नै धैर्यता हो, खेलाडीमा धैर्यता भएन भने लामो करिअर हुन सक्दै ।’ टेस्ट रोमाञ्चकताले भरिएको बताउने गेल स्वयं सन् २०१४ देखि यस खेलबाट टाढिए ।

गेलले १०३ खेलमा १५ शतक तथा ३७ अर्धशतकको सहयोगमा ७ हजार दुई सय १४ रन बनाएका छन् ।

यसैगरी बलिङको क्रममा उनले एक सय चार इनिङ्समा ७३ विकेट लिन सफल भए ।

उनले दुई पटक चार ब्याट्सम्यानलाई आउट पारेका छन् । करिअरमा उनले दुई पटक पाँचभन्दा बढी विकेट लिएका छन् ।

४० वर्षीय गेलले युवा खेलाडीहरूलाई एकदिवसीय र टी-२० फर्म्याटमा भन्दा टेस्ट खेलमै केन्द्रित रहन सल्लाह दिएका छन् । ‘५० र २० ओभरामकेन्द्रित रहेका खेलाडीको करिअर लामो छैन, यदि क्रिकेटमा करिअर बनाउनु छ भने टेस्ट नै पहिलो रोजाइ हुनुपर्छ,’ गेलले भने, ‘पाँच दिनसम्म टिक्न सक्ने खेलाडीले सहजै अन्य फम्यार्टमा आफूलाई स्थापित गर्न सक्छन् ।’

‘सचिनले सन्न्यास घोषणा गर्दा रोएको थिएँ’

अन्तर्वार्ताको क्रममा गेलले सन् २०१३ मा सचिन तेन्दुलकरले सन्न्यास घोषणा गर्दा रोएको बताए । उनले भने, ‘सचिनले सन्न्यास घोषणा गर्दा म रोएको थिएँ, उनको क्रिकेट मलाई मन पथ्र्यो । सचिनको विदाई देखेर भावुक हुँदै म रोएको थिए ।’

टेष्टमा खेलाडीको फिटनेस र मानसिक परीक्षण हुने उनले बताए । गेल थप्छन्, ‘टेस्ट क्रिकेटमा आफ्नो क्षमता, फिटनेस र मानसिक परीक्षण हुन्छ ।’

Loading...