प्रशिक्षक ह्वाटमोर नेपाल आइपुगे

काठमाडौं : नेपाली टिमका मुख्य प्रशिक्षक डेभ ह्वाटमोर नेपाल आइपुगेका छन्। ह्वाटमोर सोमबार काठमाडौं आइपुगेका हुन्।

नेपालले आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत स्पेनमा त्रिकोणात्मक सिरिज खेल्ने भएपछि ह्वाटमोर नेपाल आएका हुन्।

ह्वाटमोर नेपाल आएसँगै आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत नेपाल, नामिबिया र स्कटल्याण्डविचको सिरिजका लागि नेपालले प्रशिक्षण सुरु गर्ने भएको क्यानले जनाएको छ।

नेपालमा कोरोना भाइरसका दोस्रो लहर फैलिँएर लकडाउन भएपछि ह्वाटमोर श्रीलंका फर्किएका थिए। अब टिमको क्याम्प सुरु हुने भएपछि उनी अर्को काठमाडौं आइपुगेका हुन्।

क्यानकाअनुसार ह्वाटमोर नेपाल आइपुगेकोले अब लगत्तै टिमको प्रशिक्षण सुरु हुनेछ। नेपाली टिमको क्याम्पमा पहिलो चरणमा २१–२२ खेलाडीलाई राखिने भएको छ। त्यसबाट अन्तिममा १५ खेलाडीलाई त्रिकोणात्मक सिरिजका लागि छनोट गरिनेछ।

नेपाली टिमले सुरुवाती चरणमा नेपालमा नै प्रशिक्षण गरेपनि त्यसपछि बैदेशिक भूमीमा करिव दुई साता प्रशिक्षण गर्ने गरि क्यानले तयारी थालेको छ। तर, अहिलेसम्म कुन देशमा जाने भन्ने टुंगो भने लाग्न सकेको छैन।

स्कटल्याण्डका हुनुपर्ने यो सिरिज कोरोनाको कारण अन्तिम समयमा स्पेनमा गर्ने तयारी छ। तर, अझैपनि प्रतियोगिताको मिती र तालिका भने सार्वजनिक गरिएको छैन्।

लिग टू मा नेपालले अहिलेसम्म चार खेल खेल्दा दुई जित र दुई हार ब्यहोरेको छ। घरेलु मैदानमा भएको खेलमा नेपालले अमेरीकाविरुद्ध दुई खेलमा जित हात पारेको थियो भने ओमानसँग दुबै खेलमा पराजित भएको थियो।

Loading...