स्कटल्याण्ड र नामिबियासँग सिरिज खेल्ने सम्भावित नेपाली टोली

काठमाडौं- आईसीसी विश्वकप लिग-२ अन्तर्गत एकदिवसीय त्रिकोणात्मक सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान)ले केही दिनभित्र प्रारम्भिक टोली घोषणा गर्दैछ ।

जुलाई तेस्रो साता स्पनेमा हुने सिरिजका लागि प्रारम्भिक टोलीले यही महिनाभित्र बन्द प्रशिक्षण थाल्नेछ ।

सिरिजको तयारीका लागि टिमका प्रमुख प्रशिक्षक डेव ह्वाटमोर पनि श्रीलंकाबाट नेपाल आइपुगिसकेका छन् । प्रशिक्षक पुगिसकेपछि अब क्यानले सिरिजको तयारी थाल्ने छ ।

आसन्न सिरिजमा नेपालले चिरपरिचित प्रतिद्वन्दी नामिबिया र स्कटल्याण्डको सामना गर्नेछ । कोरोनाका कारण नेपाल, नामिबिया र स्कटल्याण्डबीचको सिरिज स्पेनमा हुन लागेको हो ।

क्यानले त्रिकोणात्मक सिरिज खेल्नुअघि नेपालले नेदरल्याण्ड्ससँग अभ्यास म्याच खेल्ने तयारी गरेको छ । क्यानले नेदरल्याण्ड्स क्रिकेट बोर्डसँग अभ्यास म्याचका लागि आग्रह गरेको बताइएको छ ।

नेपालले २०२० को फेब्रअुरीयता वानडे सिरिज खेल्न पाएको छैन । नेपालले २०२० मा घरेलु मैदानमा ओमान र अमेरिकाबीच त्रिकोणात्मक सिरिज खेलेको थियो ।

सो सिरिजमा ओमानविरुद्ध हारको सामना गर्दा नेपालले अमेरिकालाई भने दुवै खेलमा पराजित गरेको थियो ।

आउँदो त्रिकोणात्मक सिरिजका लागि टिममा केही नयाँ अनुहारले पनि मौका पाउने सम्भावना छ ।

वैशाखमा नेदरल्याण्ड्स र मलेसियासँग भएको त्रिकोणात्मक टी-२० सिरिजमा उत्कृष्ट प्रदर्शन गर्ने ओपनरद्वय कुशल भुर्तेल र आशिफ शेखले एकदिवसीय टोलीमा स्थान बनाउने सम्भावना छ ।

वानडे टिममा कुशलले स्थान पाउने सम्भावना पक्का जस्तै छ । आशिफले पनि टी-२० सिरिजमा राम्रो प्रभाव छाडेकाले उनले पनि वानडे टोलीमा स्थान बनाउन सक्छन् ।

त्यस्तै, चोटका कारण टी-२० सिरिज गुमाएका पूर्वकप्तान पारस खड्का टिममा फर्किने छन् । आशिफ र कुशलले ओपनिङमा निरन्तरता पाएमा पारसले तेस्रो नम्बरमा ब्याटिङ गर्न सक्छन् ।

त्यस्तै, कप्तान ज्ञानेन्द्र मल्लले आशिफ प्लेइङ-११ मा नपरेको खेलमा कुशलसँग ओपनिङ गर्न सक्छन् । चौथो नम्बरमा उपकप्तान दीपेन्द्रसिंह ऐरीले खेल्ने सम्भावना छ ।

पाँचौमा विकेटकीपर/ब्याट्सम्यान विनोद भण्डारीको स्थान सुरक्षित छ ।

त्यस्तै, आरिफ शेख र कुशल मल्लले पनि टिममा अटाउने पक्का जस्तै छ । अनुभवी ब्याट्सम्यान शरद भेषवाकर टिममा फर्किने सम्भावना बलियो छ ।

शरदले व्यक्तिगत कारण देखाउँदै वैशाखमा भएको टी-२० सिरिज खेलेका थिएनन् । तल्लो क्रममा अलराउन्डरद्वय करण केसी र सोमपाल कामीले ब्याटिङ गर्नेछन् ।

तीव्र गतिको बलरको रूपमा करण, सोमपालबाहेक अविनाश बोहरा, कमलसिंह ऐरीले टिममा स्थान बनाउने सम्भावना छ । कमलले टी-२० सिरिजमा राम्रो प्रदर्शन गरेका थिए ।

त्यस्तै, स्पिनरको रूपमा बसन्त रेग्मीले कमब्याक गर्न सक्छन् । उनले टी-२० सिरिज खेलेका थिएनन् ।

त्यस्तै, सन्दीप लामिछाने, सुशान भारी र ललितनारायण राजवंशी/साहब आलमले टिममा स्थान बनाउन सक्छन् । ललित र साहबमध्ये एक जना टिममा अटाउन सक्छन् ।

त्रिकोणात्मक सिरिजका लागि स्पेन जान सक्ने नेपाली टोली : कुशल भुर्तेल, आशिफ शेख, ज्ञानेन्द्र मल्ल (कप्तान), पारस खड्का, दीपेन्द्रसिंह ऐरी (उपकप्तान), शरद भेषवाकर, विनोद भण्डारी, कुशल मल्ल, आरिफ शेख, सोमपाल कामी, करण केसी, अविनाश बोहरा, कमलसिंह ऐरी, बसन्त रेग्मी, सन्दीप लामिछाने, सुशान भारी र ललित नारायण राजवंशी/साहब आमल ।

साथै, लोकेश बम, रोहित पौडेल, सन्दीप जोरालाई पनि टिममा समेट्ने प्रयास हुनसक्छ ।

Loading...