कुशलसहित चार क्रिकेटरले एक-एक लाख रुपैयाँ पाउने

काठमाडौं- माई सेकेण्ड टिचरले नेपाली राष्ट्रिय क्रिकेट टिमका चार खेलाडीलाई एकएक लाख दिने भएको छ ।

वैशाखमा भएको नेपाल, नेदरल्यान्ड्स र मलेसिया सम्मिलित त्रिकोणात्मक शृंखलाको उपाधि जित्ने नेपाली टोलीलाई नगद पाँच लाखका साथै चार खेलाडीलाई एकएक लाख दिने भएको हो ।

सो सिरिजमा डेब्यू गर्ने चार जना खेलाडीहरू, कुशल भुर्तेल, आसिफ शेख, शाहब आलम र कमल सिंह ऐरीलाई जनही नगद एक लाख केही दिनमा नै एक कार्यक्रमको आयोजना हस्तान्तरण गरिने माई सेकेण्ड टिचरले जनाएको छ ।

त्यस्तै, नेपाल क्रिकेट संघ (क्यान) र नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रायोजक माई सेकेन्ड टिचर (एमएसटी) ले राष्ट्रिय क्रिकेट टोलीको जर्सी डिजाइन गर्नका लागि प्रतिस्पर्धा खुला गरेको छ ।

क्यान र एमएसटीले आज एक संयुक्त विज्ञप्ति जारी गर्दै जर्सीको डिजाइनका लागि प्रतिस्पर्धा खुला गरेको जनाएको हो ।

क्यानले विज्ञापन एजेन्सी एडप्याड मार्फत माई सेकेण्ड टिचरलाई राष्ट्रिय टोलीको प्रमुख प्रायोजकको रुपमा पाएको हो। एड प्याडका प्रबन्ध निर्देशक सुरज गिरीका अनुसार उत्कृष्ट डिजाइन बनाउनेले पुरस्कार स्वरुप नगद एक लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।

डिजाइन गर्नेले राष्ट्रिय टोलीको जर्सीको अगाडि र पछाडिको भाग दुवैलाई ध्यानमा राखेर डिजाइन गर्न पर्ने हुन्छ।

कुनै पनि व्यक्तिले जर्सीको डिजाइन गर्दा नेपालको राष्ट्रिय झन्डामा प्रयोग हुने रातो र निलो रङ्गको प्रयोग गर्न पर्ने विज्ञप्तिमा जनाइएको छ ।

डिजाइनरले जर्सीको डिजाइन गर्दा राष्ट्रिय टोलीले पालना गर्न पर्ने अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को नियम अनुसार नै डिजाइन गर्न पर्ने हुन्छ ।

तस्बिर : कान्तिपुर

नेपालले जुलाईमा विश्वकप लिग टु अन्तर्गतको स्पेनमा आयोजना हुने आफ्नो दोश्रो शृंखलामा स्कटल्याण्ड र नामिबियाको सामना गर्नेछ ।

Loading...