बाबरको टिमविरुद्ध इश्लामाबादको फराकिलो जित, मुनरो र अहमदले गरे चौका/छक्काको वर्षा

काठमाडौं । यूएईमा जारी पाकिस्तान सुपर लिग (पीएसएल)अन्तर्गत कराची किंग्सविरुद्ध इश्लामाबाद युनाइटेड ८ विकेटले विजयी भएको छ ।

कराचीले दिएको १ सय ९१ रनको लक्ष्य इश्लामाबादले १९.४ ओभरमा दुई विकेट गुमाएर पूरा गर्‍यो ।

उसका लागि कोलिन मुनरो र इफ्खिार अहमदले उत्कृष्ट पारी खेले । मुनरोले ५६ बलमा १२ चौका र दुई छक्कासहित अविजित ८८ र इफ्तिखारले ३९ बलमा पाँच छक्का र पाँच चौकाको सहयोगमा अविजित ७१ रन बनाए ।

त्यस्तै, उश्मान ख्वाजा १२ रनमा आउट भए।

बलिङमा अब्बास अफ्रिदी र वकास मक्सूदले एक/एक विकेट हात पारे ।

त्यसअघि, शेख जायद स्टेडियम अबुधाबीमा टस हारेर ब्याटिङको मौका पाएको कराचीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १९० रन बनायो ।

उसका लागि कप्तान बाबर आजमले उत्कृष्ट पारी खेले । उनले ५४ बलमा ७ चौका र ३ छक्का प्रहार गर्दै ८१ रन बनाए ।

यस्तै, नजीबुल्लाह जद्रानले ४२ बलमा ५ चौका र ४ छक्काको मद्दतमा अविजित ७१ बनाए । त्यस्तै, ओपनर शर्जिल खानले २५ रनको योगदान दिए ।

बलिङमा हसन अली, मोहम्मद वासिम, अलि खान र अकिफ जाभेदले एक/एक विकेट लिए ।

यो जितसँगै इश्लामाबाद अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । उसले ८ म्याचमध्ये ६ मा जित र दुई खेलमा हारको सामना गरेको छ ।

कराचीले ७ खेलमध्ये चारमा हार र तीन खेलमा जित हात पारेको छ । ऊ अंक तालिकाको चौथो स्थानमा छ ।

Loading...