टिम पेनले बताए आफूपछि अष्ट्रेलियाको कप्तान बन्ने ब्याट्सम्यानको नाम

काठमाडौं- अष्ट्रेलिया क्रिकेट बोर्ड टिम कप्तान परिवर्तन गर्ने तयारीमा छ ।

टेष्ट टोलीका कप्तान टिम पेन र सीमित ओभर क्रिकेट टिमका कप्तान आरोन फिन्चलाई हटाउँदै बोर्ड नयाँ कप्तान चयनका लागि तयारीमा जुटेको हो ।

पेन र फिन्चले बढ्दो उमेरका कारण एक/डेढ वर्षयता व्यक्तिगतरूपमा राम्रो प्रदर्शन गर्न सकेका छैनन् । जसकारण उनीहरूलाई विश्राम दिँदै बोर्ड नयाँ कप्तानको खोजीमा लागेको हो ।

यसैबीच, वर्तमान टेष्ट टिमका कप्तान टिम पेनले आफूपछि टेष्ट टिमको कप्तान बन्न सक्ने ब्याट्सम्यानको नाम बताएका छन् ।

उनले आफूपछि अष्ट्रेलिया टेष्ट टिमको कप्तान ब्याट्सम्यान मार्नस लाबुसेन बन्न सक्ने बताएका हुन् ।

पेनले लाबुसेनमा टिमको नेतृत्व गर्ने क्षमता भएको भन्दै उनको प्रशंसासमेत गरेका छन् । लाबुसेनले टेष्टमा डेब्यू गरेसँगै टिमका लागि उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । अहिल उनी अष्ट्रेलिया टेष्ट टिमका महत्वपूर्ण ब्याट्सम्यान हुन् ।

युवा ब्याट्सम्यान भएकाले पनि लाबुसेनलाई बोर्डले आगामी कप्तानको रूपमा हेरेको हुन सक्ने पेनले बताए ।

त्यस्तै, पेनबाहेक पूर्वकप्तान रिकी पोन्टिङले पनि लाबुसेन आगामी दिनमा अष्ट्रेलिया टिमको कप्तान बन्न सक्ने बताएका छन् ।

लाबुसेनले हालसम्म १८ म्याचको ३१ इनिङ्समा १ हजार ८८५ रन बनाएका छन् । त्यसक्रममा उनले पाँच शतक र १० अर्धशतक बनाएका छन् ।

मार्नस बलिङ पनि गर्न सक्छन् । उनले अहिलेसम्म टेष्टमा १२ विकेट लिइसकेका छन् ।

Loading...