पन्त बन्छन् आगामी भारतीय टिमको क्याप्टेन, यी पूर्वकप्तानले गरे भविष्यवाणाी

काठमाडौं- भारतीय क्रिकेट टिमका पूर्वमहान् खेलाडी सुनील गावस्करले भारतीय टिमका युवा विकेटकीपर/ब्याट्सम्यान ऋषभ पन्तको बारेमा आफ्नो प्रतिक्रिया दिएका छन् ।

गावस्करले स्पोट्स स्टारसँगको कुराकानीमा पन्तको भविषयको बारेमा आफ्नो प्रतिक्रिया दिएका हुन् ।

‘पन्त भविष्यमा भारतीय टिमका कप्तान बन्न सक्छन् । उनी चर्चित कप्तानमध्येका एक हुनेछन्,’ गावस्करले पन्तकोे तारिफ गर्दै भने, ‘ऋषभ आईपीएल २१ मा प्रत्येक म्याचमा पूर्ण कप्तानको जसरी नै कप्तानी गरिरहेका थिए ।’

पन्त आईपीएल २०२१ मादिल्ली क्यापिटल्समा कप्तान बनेका थिए । नियमित कप्तान श्रेयस अय्यर घाइते भएर आईपीएलमा उपस्थिति हुन नसक्ने भएकाले पन्तले दिल्लीको कप्तानी पाएका थिए ।

गावस्करले पन्तको सानासाना गल्तिलाई माफ गर्दै अगाडि थपेका छन्, ‘पन्त युवा खेलाडी हुन् । धैर्यता गर्यो भने पछि उनी राम्रो कप्तान बन्न सक्छन् ।’

गावस्करले १४औँ सिजनबाट पन्तले धेरै कुरा सिकेको समेत बताए । ‘युवा कप्तान पन्तको दिल्लीले यो सिजनमा अरू सबै टिमभन्दा राम्रो गर्यो । पन्तले यो सिजनमा आफूले के कस्तो कप्तानी गरे भनेर आफैलाई प्रश्नसमेत गरेका छन् ।’

जस्तोसुकै परिस्थितिमा पनि टिमलाई सही दिशामा ल्याउन सक्ने खुबी भएकाले पनि पन्त आगामी दिनमा भारतीय टिमको कप्तान बन्न सक्ने गावस्करले दाबी गरे ।

‘पन्तले पहिलो केही म्याचमा सबैलाई देखाए । उनले कसरी कप्तानी गरे । पन्तले आफ्नो टिमलाई अप्ठ्यारो स्थितिमा पनि अगाडि लिएर गएका छन्,’ गावस्करले भने, ‘उनी भविष्यका भारतीय कप्तान हुन् । यसमा कुनै शंका रहेको छैन । पन्तभित्र अथाह प्रतिभा छ । उनलाई पछि कप्तानीको जिम्मा मिल्यो भने राम्रोसँग कप्तानी गर्न सक्छन् ।’

पन्तले २९ म्याच सकिँदा आफ्नो कप्तानीमा दिल्लीलाई यो सिजनमा शीर्ष स्थानमा पुर्याएका छन् ।

दिल्लीले आईपीएल २०२१ मा ८ म्याच खेल्दा ६ म्याचमा जित हासिल गरेको छ ।

Loading...