WTC फाइनलका लागि यी ६ भारतीय खेलाडीले पाएनन् टोलीमा मौका

काठमाडौं- भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले न्यूजिल्याण्डसँगको विश्व टेष्ट च्याम्पियनशिपको फाइनलका लागि टिम घोषणा गरेको छ ।

बीसीसीआईले आज विराट कोहलीको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो ।

टेष्ट च्याम्पियनशिप फाइनलमा केएल राहुल, मयंक अग्रवाल, अक्षर पटेल, केएस भरत, वासिङ्टन सुन्दर र शार्दुल ठाकुरले भने टिममा मौका पाएनन् ।

फाइनलमा ओपनिङमा रोहितका साथ शुभमन गिलले मौका पाउने सम्भावना छ । साथै, विकेटकीपरको रूपमा प्लेइङ-११ मा ऋषभ पन्तले मौका पाउने सम्भावना पक्का जस्तै छ ।

न्यूजिल्याण्डले पनि आज नै फाइनल म्याचका लागि टोली घोषणा गरेको छ । न्यूजिल्याण्डले केन विलियम्सनको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो ।

च्याम्पियनशिप फाइनलमा पनि डेभन कन्वे र विल योङले निरन्तरता पाएका छन् । उनीहरूले इंग्ल्याण्डसँगको सिरिजमा उत्कृष्ट प्रदर्शन गरेका थिए ।

त्यस्तै, मिचेल सान्टनरको स्थानमा अजिज पटेलले मौका पाएका छन् । सान्टनरले चोटका कारण च्याम्पियनशिपको फाइनलमा मौका नपाएका हुन् ।

भारत र न्यूजिल्याण्डबीचको च्याम्पियनशिप फाइनल यही १८ जुनदेखि २२ जुनसम्म हुँदैछ । फाइनल म्याच इंग्ल्याण्डको साउथह्याम्टनमा हुनेछ ।

फाइनल म्याचका लागि दुवै टोली अहिले इंग्ल्याण्डमा छन् । भारतसँग फाइनल म्याच खेल्नुअघि न्यूजिल्याण्डले इंग्ल्याण्डसँगको टेष्ट सिरिज १-० ले जितेको छ ।

दुवै टोली उत्कृष्ट लयमा हरेकाले च्याम्पियनशिप फाइनल रोमाञ्चक हुने अनुमान गरिएको छ ।

फाइनलका लागि घोषित भारतीय टोली : रोहित शर्मा, शुभमन गिल, चेतेश्वर पुजारा, विराट कोहली (कप्तान), अजिंक्य रहाणे, हनुमा विहारी, ऋषभ पन्त (विकेटकीपर), ऋद्धिमान साह, आर अश्विन, रवीन्द्र जडेजा, जसप्रीत बुमराह, इशान्त शर्मा, मोहम्मद शामी, उमेश यादव र मोहम्मद सिराज ।

फाइनलका लागि न्यूजिल्याण्डको टोली : केन विलियम्सन (कप्तान), टम ब्लेन्डल, ट्रेन्ट बोल्ट, डेवेन कन्वे, कोलिनडी ग्रान्डहोम, म्याट हेनरी, काइले जेमिसन, टम लाथम, हेनरी निकोल्स, बीजे वाटलिङ विल योङ, एजेज पटेल, टिम साउथी, रस टेलर र नील वाग्नर ।

Loading...