नेपाली बलरको टाउको दुखाई बन्नसक्ने स्कटल्याण्डका ५ ब्याट्सम्यान

काठमाडौं- आईसीसी विश्वकप लिग-२ अन्तर्गत नेपालले जुलाईमा त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्दैछ ।

नेपालले जुलाई तेस्रो साता स्टकटल्याण्ड र नामिबियासँग स्पेनमा सिरिज खेल्न लागेको हो ।नेपालले २०२० को फेब्रुअरीयता एकदिवसीय सिरिज खेलेको छैन ।

फेब्रुअरीमा नेपालले घरेलु मैदानमा ओमान र अमेरिकासँग सिरिज खेलेको थियो । सो सिरिजमा नेपालले ओमानसँग हारको सामना गर्दा अमेरिकासँग भएका दुवै खेलमा भने हारको सामना गरेको थियो ।

आसन्न सिरिजमा नेपालले चिरपरिचित प्रतिद्वन्द्वी नामिबिया र स्कटल्याण्डसँग खेल्दैछ । वर्तमान समयमा स्टकल्याण्ड १४औँ, नेपाल १६औँ र नामिबिया १८औँ नम्बरको वरियतामा छन् ।

आउँदो सिरिजमा नामिबियाभन्दा बढी स्कटल्याण्डविरुद्ध नेपालको प्रदर्शन हेर्न लायक हुनेछ । स्कटल्याण्ड कुनै बेला टेष्ट मान्यता पाइसकेको टिम हो ।

स्कटल्याण्डले इंग्ल्याण्डलाई समेत हराइसकेको छ । यसैबीच, आज आसन्न वानडे सिरिजमा नेपाललाई कडा चुनौती दिने स्कटल्याण्डका पाँच ब्याट्सम्यानको चर्चा गर्दैछौँ :

१. काइल कोएट्जर : काइल कोएट्जर वर्तमान स्कटल्याण्ड टिमका कप्तान हुन् । उनको नेतृत्वमा स्टकल्याण्डले राम्रो प्रदर्शन पनि गरिरहेको छ ।

कोएट्जर स्टकल्याण्ड टिमका सबैभन्दा महत्वपूर्ण सदस्य हुन् । उनले हालसम्म एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ६१ म्याच खेलेका छन् । जसमा ३७ वर्षीय कोएट्जरले १७ अर्धशतक र चार शतक बनाएका छन् ।

उनी वानडेमा स्कटल्याण्डका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान पनि हुन् । कोएट्जरले हालसम्म यो प्रारूपमा सर्वाधिक २ हजार ४३५ रन बनाएका छन् । उनी ओपनिङ ब्याट्सम्यानसमेत हुन् ।

२. कलुम म्याकलोड : ३२ वर्षीय कलुम म्याकलोड पनि स्कटल्याण्ड टिमका सबैभन्दा सफल र महत्वपूर्ण ब्याट्सम्यान हुन् । सन् २०१८ मा भएको एक वानडे म्याचमा इंग्ल्याण्डलाई हराउन उनको भूमिका महत्वपूर्ण रहेको थियो ।

इंग्ल्याण्डसँगको सो खेलमा म्याक्लोडले ९४ बलमा १६ चौका र चार छक्कासहित अविजित १४० रनको पारी खेलेका थिए । उक्त म्याचमा उनी म्यान अफ द म्याचसमेत घोषित भएका थिए ।

म्याक्लोडले उत्कृष्ट पारी खेलेको सो म्याचमा स्कटल्याण्डले इंग्ल्याण्डलाई ६ रनले हराएको थियो । उनी वानडेमा स्कटल्याण्डका लागि सर्वाधिक रन बनाउने दोस्रो ब्याट्सम्यान हुन् ।

म्याक्लोडले हालसम्म वानडेमा आठ शतक र आठ शतक बनाएका छन् । उनले ६८ वानडे म्याचमा २ हजार १८९ रन बनाएका छन् ।

३. रिची बेरिङटन : स्टकल्याण्डका रिची बेरिङटन पनि टिमका महत्वपूर्ण ब्याट्सम्यान हुन् । उनले हालसम्म वानडेमा ८० म्याच खेलिसकेका छन् । जसमा उनले १ हजार ९३३ रन बनाएका छन् ।

वानडेमा रिचीले १३ अर्धशतक र एक शतक बनाएका छन् । उनी स्टकल्याण्डका लागि वानडेमा सर्वाधिक रन बनाउने ब्याट्सम्यानको तेस्रो स्थानमा छन् ।

४. म्याथ्यू क्रस : म्याथ्यू क्रस पनि स्टकल्याण्ड टिमका महत्वपूर्ण ब्याट्सम्यान हुन् । विकेटकीपरसमेत रहेका उनले ओपनिङमा ब्याटिङ गर्छन् ।

म्याथ्यूले हालसम्म ५४ एकदिवसीय म्याच खेलेका छन् । जसमा उनले पाँच अर्धशतक र दुई शतकसहित १ हजार १५० रन बनाएका छन् । म्याथ्यू वानडेमा स्टकल्याण्डका लागि सर्वाधिक रन बनाउने पाँचौ ब्याट्सम्यान हुन् ।

५. जर्ज मुन्से : त्रिकोणात्मक सिरिजमा नेपाली बलरको टाउको दुखाई बन्न सक्ने स्कटल्याण्डका अर्का ब्याट्सम्यान जर्ज मुन्से पनि हुन् । उनले स्कटल्याण्डका लागि लगातार राम्रो प्रदर्शन गर्दै आएका छन् ।

२८ वर्षीय मुन्सेले हालसम्म स्टकल्याण्डका लागि २७ वानडे म्याच खेलेका छन् । उनले वानडेमा तीन अर्धशतकका साथ ६ सय ६८ रन बनाएका छन् ।

मुन्से वानडेमा स्कटल्याण्डका लागि सर्वाधिक रन बनाउने सूचीको ११औँ स्थानमा छन् । उनले टी–२० क्रिकेटमा एक शतकसमेत बनाइसकेका छन् ।

Loading...