दुई देशसँगको सिरिजका लागि अष्ट्रेलियाको टोली घोषणा, म्याक्सवेलसहित ८ खेलाडीलाई विश्राम

काठमाडौं- अष्ट्रेलियाले वेष्ट इण्डिज र बंगलादेश भ्रमणका लागि टिमको घोषणा गरेको छ। बुधबार क्रिकेट अष्ट्रेलियाले आरोन फिन्चको कप्तानीमा १८ सदस्यीय टिमको घोषणा गरेको हो।

वेष्ट इण्डिज र बंगलादेशसँगको सिरिजका लागि दुई खेलाडी वैकल्पिकमा राखिएको छ। अष्ट्रेलियाले घोषणा गरेको टिममा अभुवभी खेलाडीहरू परेका छैनन्।

टिममा नपर्नेमा ग्लेन म्याक्सवेल, स्टिभ स्मिथ, डेविड वार्नर, प्याट कमिन्स, मार्कस स्टोइनिस, डानियल साम्स, केन रिचार्डसन र झय रिचार्डसन छन् ।

कुहिनोको चोटका कारण स्मिथले नाम फिर्ता लिएका हुन् । अन्य खेलाडी भने उनीहरूको अनुरोधको कारण भ्रमण गर्ने टिममा नराखिएको क्रिकेट अष्ट्रेलियाले जनाएको छ ।

बायो–बबल थकानलगायतका कारणले पनि अनुभवी खेलाडीहरूले आफ्नो नाम फिर्ता लिएका हुन्। यसअघि घोषित प्रारम्भिक टोलीमा भने उनीहरुको नाम थियो।

अष्ट्रेलियाले वेष्ट इण्डिजसँग पाँच टी-२० र तीन एकदिवसीय सिरिज खेल्नेछ। यी दुई देशबीचको सिरिज ९ जुलाईदेखि २४ जुलाईसम्म बार्बाडोस र सेन्ट लुसियामा हुनेछन्।

त्यसपछि अष्ट्रेलियाले बंगलादेशसँग पाँच खेलको टी-२० सिरिज खेल्नेछ।

यस सिरिजलाई टी-२० विश्वकपकाको तयारी सिरिजका रूपमा दुवै टोलीले लिएका छन्। यसै वर्ष भारतमा टी–२० विश्वकप हुँदैछ। जसमा दुवै टोलीले सहभागिता जनाउनेछन्।

वेष्ट इण्डिज र बंगलादेश टूरमा जाने अष्ट्रेलियन टोली : आरोन फिन्च (कप्तान), एस्टन आगर, वेस आगर, जेसन बेहरेन्डोर्फ, एलेक्स क्यारी, डान क्रिष्टियन, जोश हेजलवुड, मोइसेस हेनरिक्स, मिचेल मार्श, बेन म्याकडर्मोट, रिले मेरिडिथ, जोश फिलिप, मिचेल स्टार्क, मिशेल स्विपसन, एस्टन टर्नर, एन्ड्रयू टाय, म्याथ्यू वेड र एडम जम्पा ।

वैकल्पिक खेलाडी : नाथन एलिस, तनवीर सांघा।

Loading...