राशिदको टिमविरुद्ध बाबरको कराचीको रोमाञ्चक जित, यी खेलाडी बने जितका ‘हिरो’

काठमाडौं- यूएईमा जारी पाकिस्तान सुपर लिग (पीएसएल)अन्तर्गत कराची किंग्सविरुद्ध लाहोर कलन्दर्स ७ रनले पराजित भएको छ ।

जारी सिजनमा लाहोरको यो लगातार तेस्रो हार हो ।

आफ्नो नवौँ म्याचमा कराचीले दिएको १ सय ७७ रनको लक्ष्य पछ्याएको लाहोरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ६९ रन बनायो ।

उसका लागि मोहम्मद अफीजले ३६, टिम डेविडले ३४, जेम्स फल्कनरले ३३, कप्तान सोहल अख्तरले २१, फखर जमानले १९ र राशिद खानले अविजित ११ रन बनाए ।

बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।

बलिङमा नूर अहमद, मोहम्मद इलायसले दुई/दुई, अब्बास अफ्रिदी र इमाद वसीमले एक/एक विकेट लिए ।

त्यसअघि, टस जितेर पहिला ब्याटिङ गरेको कराचीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ७६ रन बनायो ।

उसका लागि बाबर आजमले ५४, मार्टिन गुप्टिलले ४३, कप्तान इमाद वसीमले अविजित ३३, दानियस अजिजले १६ र सरजील खानले १३ रन बनाए ।

बलिङमा राशिद खानले दुई, मोहम्मद अफीज, अहमद दानियल र शाहीनसाह अफ्रिदीले एक/एक विकेट लिए ।

यो जितसँगै कराची अंक तालिकाको छैटौँ स्थानमा छ । उसले ९ म्याचमध्ये चारमा जित र पाँच खेलमा हारको सामना गरेको छ ।

लाहोरले ९ म्याचमध्ये पाँच खेलमा जित हात पारेको छ । लाहोर अंक तालिकाको तेस्रो स्थानमा छ ।

Loading...