कोहली भर्सेस विलियम्सन : को उत्कृष्ट कप्तान? यसो भन्छन् भारतीय पूर्वक्रिकेटर

काठमाडौं- भारतीय टिमका पूर्वब्याट्सम्यान आकाश चोपडाले भारतीय कप्तान विराट कोहली र न्यूजिल्याण्डका कप्तान केन विलियम्सनबीच तुलना गरेका छन्।

उनले तथ्याङ्कका आधारमा कोहली र विलियम्सनबीच तुलना गरेका हुन्।

आकाशले कोहली र विलियम्सनबारे आफ्नो युट्यूब च्यानलमा वर्ल्ड टेस्ट च्याम्पियनशिप फाइनलअघि प्रतिक्रिया दिएका हुन्।

भारत र न्यूजिल्यान्डबीच आईसीसी वर्ल्ड टेस्ट च्याम्पियनशिपको फाइनल खेल आजदेखि हुँदैछ। नेपाली समयअनुसार दिउँसो ३:१५ बजेदेखि इंग्ल्यान्डको साउथह्याम्टनमा खेल सुरु हुनेछ।

आकाशका अनुसार विलियमसन अहिलकोे तथ्याङ्कमा कोहलीभन्दा अगाडि छन् । उनले भने, ‘यदि विलियम्सनको टेस्ट करियरलाई हेर्ने हो भने उनको ५४ को औसतमा ७१२९ रन बनाए, जुन खराब छैन । अर्को तर्फ कप्तान कोहलीले ९१ खेलमा ५२ को औसतमा ७४९० रन बनाए।’

उनले थप्दै भने, ‘यी दुई खेलाडीहरू मध्ये कुनचाहिँ राम्रो छ भन्न एकदम गाह्रो छ। यद्यपि विलियमसन यस समयमा कोहली भन्दा अलि अगाडि छन्, तर कोहली पनि पछाडि छैनन्।’

वानडेमा कोहली अगाडि

आकाशले कोहली एकदिवसीय क्रिकेटमा केनभन्दा धेरै अगाडि रहेको बताएका छन्।

उनले भने, ‘यदि हामी एकदिवसीय क्रिकेटको कुरा गर्ने हो भने, केन विलियमसनले ४७.५ को औसतमा ६१७३ रन बनाएका छन्। यो तथ्याङ्क हेर्दा कोहली अगाडी छन्। विलियमसन भन्दा कोहलीले लगभग दुई गुणा १२१६९ रन बनाएका छन्।’

कोहली र विलियम्सन विश्व टेष्ट च्याम्पियनशिपको फाइनलमा आज एक अर्कासँग खेल्दैछन् । दुवै कप्तान आ-आफ्नो टीमलाई ट्रफी जिताउन मिहिनेत गर्नेछन्।

Loading...