कुशलसहित यी चार युवा खेलाडीले पहिलो पटक पाए वानडे टिममा मौका

काठमाडौं- स्पेनमा हुने आईसीसी विश्वकप क्रिकेट लिग-२ को तयारीका लागि नेपाल क्रिकेट संघ (क्यान) ले आज बन्द प्रशिक्षणका सहभागी हुने खेलाडीको सूची सार्वजनिक गरेको छ ।

२० सदस्यीय सूचीमा युवा खेलाडीलाई पनि प्राथमिकता दिइएको छ ।

क्यानले आज सार्वजनिक गरेको खेलाडीको सूचीमा कुशल भुर्तेल र आशिफ शेखले वानडे टिममा पनि मौका पाएका छन् । यो जोडीले वैशाखमा सम्पन्न त्रिकोणात्मक टी-२० सिरिजमा उत्कृष्ट प्रदर्शन गरेको थियो ।

साथै, तीव्र गतिका बलर विक्रम सोबले पनि टोलीमा स्थान बनाएका हुन् । साहब आलमले पनि पहिलो पटक वानडे टिमको बन्द प्रशिक्षणमा मौका पाएका छन् ।

टिमका अनुभवी ब्याट्सम्यान शरद भेषवाकरले डेढ बर्षपछि बन्द प्रशिक्षणमा कमब्याक गरेका छन् ।

त्यस्तै, पृथु बास्कोटाले पनि लामो समयपछि बन्द प्रशिक्षणमा स्थान बनाएका छन् । साथै, चोटका कारण वैशाखमा भएको टी-२० सिरिज गुमाएका पारस खड्का पनि टोलीमा फर्किएका छन् ।

त्यस्तै, टी-२० सिरिजका लागि टोलीमा समावेश नभएका पवन सराफले वानडेमा अवसर पाएका छन् । यद्यपि, उनले वानडेमा डेब्यू गरिसकेका छन् ।

बन्द प्रशिक्षण आइतबारबाट सुरु हुँदैछ । नेपालले आउँदो जुलाईको अन्तिमतिर स्कटल्याण्ड र नामिबियासँग सिरिज खेल्दैछ ।

विश्वकप लिग-२ अंकतालिकाको शीर्ष ३ स्थानमा रहन सके नेपालले सन् भारतमा आयोजना हुने २०२३ एकदिवसीय विश्वकपको छनोट प्रतियोगिता खेल्न पाउनेछ भने विश्वकप सुपर लिगमा समेत छनोट हुनेछ ।

बन्द प्रशिक्षणमा बोलाइएका खेलाडी : ज्ञानेन्द्र मल्ल(कप्तान), कुशल भुर्तेल, आरिफ शेख, पारस खड्का, शरद भेषवाकर, दिपेन्द्रसिंह ऐरी, आसिफ शेख, कुशल मल्ल, पृथु बास्कोटा, विनोद भण्डारी, सन्दीप जोरा, करण केसी, सोमपाल कामी, पवन सराफ, सन्दीप लामिछाने, कमलसिंह ऐरी, अविनाश बोहरा, साहब आलम, सुशान भारी र विक्रम सोब ।

सूची :

Loading...