केभिन ओ’ब्रायनले लिए संन्यास, यी हुन् उनका तीन ठूला कीर्तिमान

काठमाडौं- आयरल्याण्ड क्रिकेट टिमका अनुभवी अलराउन्डर केभिन’ओ ब्रायनले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा गरेका छन् ।

यद्यपि, उनी टी-२० र टेष्ट क्रिकेटका लागि भने उपलब्ध रहने छन् ।

३७ वर्षीय ब्रायन आयरल्याण्डका लागि वानडेमा सर्वाधिक रन बनाउने तेस्रो ब्याट्सम्यान हुन् । उनले १५३ वानडे म्याचमा ३ हजार ६१९ रन बनाएका छन् ।

साथै, ब्रायनले वानडेमा ११४ विकेट पनि लिएका छन् । उनी आयरल्याण्डका लागि वानडेमा सर्वाधिक विकेट लिने बलर पनि हुन् ।

साथै, यो प्रारूपमा ब्रायन सर्वाधिक क्याच पक्रिने फिल्डर पनि हुन् । उनले आफ्नो वानडे करियरमा ६८ क्याच पक्रिए ।

ब्रायनले १५ वर्ष वानडे क्रिकेट खेले । सन् २०११ को वानडे विश्वकपको एक पारीको कुरा नगर्दा उनीमाथि अन्याय नै हुन्छ ।

ब्रायनले सो विश्वकपमा इंग्ल्याण्डविरुद्ध अविश्वसनीय ब्याटिङ गर्दै आयरल्याण्डलाई जित दिलाएका थिए । सो विश्वकपमा उनले हार्नै लागेको खेल जिताएका थिए ।

ब्रायनले सो खेलमा ६३ बलमा १३ चौका र ६ छक्कासहित ११३ रनको पारी खेलेका थिए । उनको नाममा वानडे विश्वकपमा सर्वाधिक कम बलमा शतक बनाउने रेकर्ड पनि छ ।

ब्रायनले सो विश्वकपमा इंग्ल्याण्डविरुद्ध ५० बलमै शतक बनाएका थिए ।

वानडे विश्वकपमा सर्वाधिक छिटो शतक बनाउने मामलामा अष्ट्रेलियाका ग्लेन म्याक्सवेल दोस्रो स्थानमा छन् ।

उनले सन् २०१५ मा श्रीलंकाविरुद्ध ५१ बलमा शतक बनाएका थिए ।

ब्रायनले हालसम्म इंग्ल्याण्डका लागि ९६ टी-२० र तीन टेष्ट म्याच पनि खेलेका छन् । उनले टी-२० मा एक शतक र तीन अर्धशतकसहित १ हजार ६७० रन बनाएका छन् ।

साथै, ब्रायनले टी-२० मा ५८ विकेट पनि लिएका छन् । टेष्टको ६ पारीमा उनले एक शतक बनाएका छन् ।

ब्रायनको परिवारमा दाई नीलओ ब्रायन, बुबा जिन्जरओ ब्रायन र दिदी चिराओ ब्रायन पनि क्रिकेटर हुन् ।
केभिनले नेपालको एभरेष्ट प्रिमियर लिग (इपीएल)समेत खेलिसकेका छन् ।

Loading...