राशिद खान सम्मिलित लाहोरको अर्को फराकिलो हार

काठमाडौं- यूएईमा जारी पाकिस्तान सुपर लिग (पीएसएल)अन्तर्गत मुल्तान सुल्तानविरुद्ध लाहोर कलन्दर्स ८० रनले पराजित भएको छ ।

मुल्तानले दिएको १ सय ७० रनको लक्ष्य पछ्याएको लाहोरले १५.१ ओभरमा सबै विकेट गुमाएर ८९ रनमै अलआउट भयो ।

उसका लागि जेम्स फल्कनरले २२, मोहम्मद अफीजले १४, फखर जमान, आगा सलमानले १३/१३ र टिम डेविडले १० रन बनाए ।

बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।

बलिङमा शाहनवाज धानीले उत्कृष्ट प्रदर्शन गरे । उनले ३.१ ओभरमा एक मेडनसहित ५ रन दिएर चार विकेट लिए ।

त्यस्तै, इमरान खानले तीन, ब्लेसिङ मुजरबानीले दुई र इमरान ताहिरले एक विकेट हात पारे ।

त्यसअघि, टस हारेर ब्याटिङ गरेको मुल्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ६९ रन बनायो ।

उसका लागि सोहीब मक्सूदले ६०, रीली रोसोले २९, सोहेल तनवीरले अविजित २९, कप्तान मोहम्मद रिजवानले १५ र जोनसन चाल्सले १० रन बनाए ।

बलिङमा शाहीनसाह अफ्रिदीले तीन, जेम्स फल्कनरले दुई, हरिस रौफ, राशिद खान र अहमद दानियलले एक/एक विकेट लिए ।

जारी सिजनमा लाहोरको यो लगातार चौथो हार हो । उसले १० म्याच खेल्दा ५ मा जित र ५ खेलमा हारको सामना गरेको छ ।

लाहोर अंक तालिकाको चौथो स्थानमा छ ।

मुल्तान भने लाहोरलाई हराएसँगै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । उसले ९ म्याच खेल्दा ५ मा जित र चार खेलमा हार ब्यहोरेको छ ।

Loading...