कोहलीले तोड्न सक्छन् आज पोन्टिङको कीर्तिमान

काठमाडौं : भारत र न्यूजिल्याण्डबीचको विश्व टेष्ट च्याम्पियनशिपको फाइनल साउथह्याम्पटनमा जारी छ। शुक्रबार पहिलो दिन वर्षाले स्थगित भएको खेल दोस्रो दिन शनिबारबाट सुरु भएको हो।

टस हारेर ब्याटिङको मौका पाएको भारतले तीन विकेट गुमाएको छ। भारतको पारीलाई कप्तान विराट कोहलीले सम्हालिरहेका छन्। खेल सुरु भएको पहिलो दिनको पहिलो पारीमा भारतले ३ विकेट गुमाएर १४६ रन बनाएको छ।

उसले रोहित शर्मा, शुभमन गिल र चेतेश्वर पुजारालाई गुमाइसकेको छ। कप्तान विराट कोहली र उपकप्तान अजिंक्य रहाणेले सम्हालिएर ब्याटिङ गरिरहेका छन्। कोहली ४४ र रहाणे २९ रनमा अविजित छन्।

सुरुवातमा भारतले २० ओभरसम्म बिनाविकेट ६२ रन जोडेको थियो। तर, पछिल्लो ८ ओभरमा उसले महत्वपूर्ण दुई विकेट गुमाउन पुग्यो।

भारतले ओपनरद्वय रोहित शर्मालाई ३४ र शुभमन गिललाई २८ रनमा गुमाएको हो भने चेतेश्वर पुजारा ८ रनमा आउट भए। किवी टीमका लागि ट्रेन्ट बोल्ट, काइल जेमिसन र नील वाग्नरले १/१ विकेट लिएका छन् ।

यदि विराटले यो उत्कृष्ट सुरुवातलाई निरन्तरता दिएको खण्डमा उनले १८ महिनापछि पहिलो शतक बनाउने छन्। यसका साथै विराटले कप्तानको रूपमा ४१ शतकको रिकी पोन्टिङको रेकर्ड पनि तोड्नेछन्।

यसअघि विराटले नोभेम्बर २०१९ मा बंगलादेशविरुद्ध डे–नाइट टेष्टमा शतक बनाएका थिए। त्यसबेलादेखि उनले ३९ अन्तर्राष्ट्रिय खेल अर्थात् १७ टी–२०, १५ वानडे र सात टेष्ट खेलिसकेका छन्।

कोहलीलाई इतिहास रच्ने अवसर 

हालसम्म कोहली र अष्ट्रेलियाका पूर्वकप्तान रिकी पोन्टिङको नाममा टेष्टमा सबैभन्दा बढी शतक बनाउने कप्तानको कीर्तिमानी बराबर छ । विराटले २०१ र पोन्टिङले ३२४ अन्तर्राष्ट्रिय खेलहरूमा ४१/४१ शतक बनाएका छन्।

यो रेकर्ड तीनै प्रारूपको अन्तर्राष्ट्रिय खेलहरूको हो। विराटले कप्तानको रूपमा ६२.५६ को  औसतमा १२३८७ रन बनाएका छन् भने पोन्टिङले ४५५४ को औसतमा १५४४० रन बनाएका छन्।

 पोन्टिङसँग रेकर्ड बराबरी गर्ने मौका

यदि समग्र अन्तर्राष्ट्रिय शतकहरूको बारेमा कुरा गर्छौं भने कोहली यसमा तेस्रो नम्बरमा छन्। उनले अहिलेसम्म ४३६ अन्तर्राष्ट्रिय खेलमा ७० शतक बनाएका छन्।

जबकि दोस्रो स्थानमा रहेका पोन्टिङले ५६० खेलमा ७१ शतक बनाएका छन्। सचिन तेन्दुलकरले ६६४ खेलमा १०० शतक सहित शीर्ष स्थानमा छन्।

Loading...