लामो अन्तरालमा मैदान फर्किए स्टोक्स, यस्तो रह्यो प्रदर्शन

काठमाडौं- इंग्ल्याण्डमा जारी टी-२० ब्लास्ट प्रतियोगिताअन्तर्गत बर्मिंघम बियर्सविरुद्ध डुरहम टिम २२ रनले विजयी भएको छ ।

जारी सिजनमा डुरहमको यो चौथो जित हो ।

उसले ६ म्याच खेल्दा एक खेलमा हार ब्यहोर्दा एक म्याचमा भने वर्षाका कारण अंक बाँडेको छ । बर्मिंघमले भने यो दोस्रो हार हो ।

उसले ७ म्याच खेल्दा चारमा जित र दुई खेलमा हारको सामना गरेको छ । एक खेलमा भने बर्मिघमले वर्षाका कारण अंक बाँडेको छ ।

आफ्नो सातौँ खेलमा डुरहमले दिएको १ सय ८६ रनको लक्ष्य पछ्याएको बर्मिंघमले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ६३ रन मात्र बनाउन सक्यो ।

उसका लागि कप्तान विल रोड्सले ३६, साम हैनले ३५, टिम ब्रेस्नन, एडम होचले २०/२० र एड पोलकले १९ रन बनाए ।

बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बटुल्न सकेनन् ।

बलिङमा ब्रायडन कार्सले सर्वाधिक तीन, स्कट बर्थविकले दुई, बेन स्टोक्स र लियाम ट्रेवासकीसले एकएक विकेट लिए ।

त्यसअघि, टस जितेर पहिला ब्याटिङ गरेको डुरहमले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ८४ रन बनायो ।

उसका लागि कप्तान क्यामरन बेनक्राफ्टले उत्कृष्ट पारी खेले । उनले ५३ बलमा सात चौकासहित अविजित ७६ रन बनाए ।

त्यस्तै, श्यान डिक्सन ३० र ग्राहम क्लार्क २० रनमा आउट भए ।

लामो समयपछि मैदान फर्किएका लोकप्रिय अलराउन्डर बेन स्टोक्सले २९ रनको पारी खेले । उनले १८ बलमा चार चौका र एक छक्कासहित २९ रन बनाएका हुन् ।

स्टोक्स चोटका कारण लामो समय मैदान बाहिर नै रहे । उनी आईपीएल २०२१ मा घाइते भएका थिए ।

फिल्डिङका क्रममा स्टोक्सको औँला फ्याक्चर भएको थियो । उनी अप्रिल १२ मा घाइते भएका थिए । त्यसयता स्टोक्सले म्याच खेलेनन् ।

Loading...