पृथु ‘त्रिकोणात्मक सिरिज’ का लागि उपलब्ध हुने सम्भावना कम

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका ब्याट्सम्यान पृथु बास्कोटा आसन्न त्रिकोणात्मक एकदिवसीय सिरिज उपलब्ध नहुने भएका छन् ।

विश्वकप क्रिकेट लिग-२ अन्तर्गत स्पेनमा हुन लागेको सिरिजमा लागि उनी उपलब्ध नहुने भएका हुन् ।

नेपालसहित नामिबिया र स्कटल्याण्डले खेल्ने यो सिरिज आउँदो जुलाई तेस्रो साता हुँदैछ । सिरिजका लागि पृथुको नाम पनि प्रारम्भिक टोलीमा समावेश गरिएको छ । तर, उनले भने आफू सिरिजका लागि उपलब्ध हुन नसक्ने बताएका छन् ।

अहिले पृथु अमेरिकामा छन् । दोस्रो डोजको कोरोना भ्याक्सिन पनि बाँकी रहेको र अहिले तत्काल फर्किन पनि कठिन रहेको कुरा नेपाली खेलकुद क्षेत्रको चर्चित समाचार पोर्टल नेप्लेजले लेखेको छ ।

समाचारका अनुसार पृथु केही महिनाअघि अमेरिका गएका थिए । त्यहाँ उनले लिग खेलिरहेका छन् ।

जुलाईमा क्यालिफोर्नियामा अर्को क्रिकेट प्रतियोगिता हुने भएकाले पनि पृथुले नेपालको सिरिजमा चासो नदेखाएका हुन सक्छन्।

स्पेनमा हुने सिरिजको तयारी स्वरूप नेपालले आजबाट बन्द प्रशिक्षण थाल्ने भनिएको थियो । तर, विविध कारणले भोलिबाट मात्र टिमले प्रशिक्षण थाल्ने भएको छ ।

बन्द प्रशिक्षणका लागि क्यानले २० खेलाडीलाई बोलाएको छ । यद्यपि, पृथु उपस्थित नहुने भएपछि उनको स्थानमा क्यानले अर्को खेलाडीलाई बोलाउने सम्भावना छ ।

बन्द प्रशिक्षणमा बोलाइएका खेलाडी : ज्ञानेन्द्र मल्ल (कप्तान), कुशल भुर्तेल, आरिफ शेख, पारस खड्का, शरद भेषवाकर, दिपेन्द्रसिंह ऐरी, आसिफ शेख, कुशल मल्ल, पृथु बास्कोटा, विनोद भण्डारी, सन्दीप जोरा, करण केसी, सोमपाल कामी, पवन सराफ, सन्दीप लामिछाने, कमलसिंह ऐरी, अविनाश बोहरा, साहब आलम, सुशान भारी र विक्रम सोब ।

Loading...