यी तीन ब्याट्सम्यान : जो पृथुको स्थान लिन सक्छन्

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका ब्याट्सम्यान पृथु बास्कोटाले त्रिकोणात्मक वानडे सिरिज नखेल्ने भएका छन् ।

उनले विश्वकप क्रिकेट लिग-२ अन्तर्गत स्पेनमा हुन लागेको सिरिज नखेल्ने भएका हुन् ।

नेपालसहित नामिबिया र स्कटल्याण्डले खेल्ने यो सिरिज आउँदो जुलाई तेस्रो साता हुँदैछ । सिरिजका लागि पृथुको नाम पनि प्रारम्भिक टोलीमा समावेश गरिएको छ । तर, उनले भने आफू सिरिजका लागि उपलब्ध हुन नसक्ने बताएका छन् ।

अहिले पृथु अमेरिकामा छन् । दोस्रो डोजको कोरोना भ्याक्सिन पनि बाँकी रहेको र तत्काल फर्किन पनि कठिन रहेकोले उनले सिरिजमा आफू उपस्थित हुन नसक्ने बताए ।

पृथुको अनुपस्थितिमा अब नेपाल क्रिकेट संघ (क्यान)ले अर्को खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाउने सम्भावना छ ।

पृथुको स्थान लिन सक्ने तीन ब्याट्सम्यान

१. रोहित पौडेल

युवा ब्याट्सम्यान रोहितकुमार पौडेल पछिल्लो केही समययता टोली बाहिर छन् । राम्रो क्रिकेट करियर सुरुवातका बाबजुद उनी पछिल्लो समय भने टोली बाहिर रहेका हुन् ।

एकदिवसीय सिरिजका लागि बन्द प्रशिक्षणमा रोहितलाई बोलाइएको छैन । यद्यपि, अब पृथुले नखेल्ने भएपछि उनले टोलीमा स्थान बनाउन सक्छन् ।

कोरोनाका कारण यो पटक क्यानले बढी सदस्यीय टोली स्पेन पठाउँदैछ । यसको फाइदा रोहितलाई पनि हुन सक्छ । उनी पार्टटाइम बलर पनि हुन् ।

रोहितले नेपालका लागि ५ वानडे र ११ टी-२० म्याच खेलिसकेका छन् । १८ वर्षीय उनले वानडेमा एक अर्धशतकसमेत बनाइसकेका छन् ।

३. सुवास खकुरेल

अनुभवी विकेटकीपर/ब्याट्सम्यान सुवास खकुरेल पनि प्रारम्भिक टोलीमा अटाएका छैनन् । तर, पृथुको अनुपस्थितिले उनलाई क्यानले बन्द प्रशिक्षणमा बोलाउन सक्छ ।

घरेलु क्रिकेटमा खराब लयका कारण सुवासले टिममा स्थान बनाउन सकिरहेका छैनन् । यद्यपि, पुनः एक पटक उनीमाथि टोलीले विश्वास गर्न सक्छन् ।

सुवासको क्रिकेट करियरको सुरुवात पनि उत्कृष्ट रहेको थियो । उनले नेपालका लागि आठ टी-२० र पाँच एकदिवसीय म्याच खेलिसकेका छन् ।

सुवासले दुवै प्रारूपमा एक/एक अर्धशतकसमेत बनाइसकेका छन् ।

३. लोकेश बम

पृथुको स्थानमा बन्द प्रशिक्षणमा युवा ब्याट्सम्यान लोकेश बमले पनि मौका पाउन सक्छन् । उनी आक्रामक ब्याट्सम्यानका रूपमा परिचित छन् ।

घरेलु प्रतियोगितामा लगातार प्रभावित पार्दै आएका लोकेशलाई टिममा समावेश गर्नुपर्ने समर्थकको दबाब पनि छ ।

तल्लो क्रममा लामो शट हिर्काउन सक्षम उनी पृथुको स्थानमा उपयुक्त विकल्प हुन सक्छन् ।

लोकेशले हालसम्म अन्तर्राष्ट्रिय क्रिकेटमा भने डेब्यू गर्न पाएका छैनन् ।

Loading...