बाहिरियो गत विजेता कराची, रिजवानको टिम फाइनलमा प्रवेश

काठमाडौं । मुल्तान सुल्तान यूएईमा भइरहेको पाकिस्तान सुपर लिग (पीएसएल)को फाइनलमा प्रवेश गरेको छ ।

गएराति क्वालिफायर म्याचमा इश्लामाबादलाई ३१ रनले हराउँदै मुल्तान पीएसएलको फाइनलमा प्रवेश गरेको हो ।

पराजित भए पनि इश्लामाबादले इलिमिनेटर खेल्ने मौका पाएको छ । उसले आज राति इमिमिनेटरमा पेशावर जाल्मीको सामना गर्नेछ ।

गएराति भएको खेलमा मुल्तानले दिएको १ सय ८१ रनको लक्ष्य पछ्याएको इश्लामाबादले निर्धारित १९ ओभरमा सबै विकेट गुमाएर १ सय ४९ रन मात्र बनाउन सक्यो ।

उसका लागि उश्मान ख्वाजाले सर्वाधिक ७० रन बनाए ।

बलिङमा सोहल तनवीर र ब्लेसिङ मुजराबानीले सर्वाधिक तीन/तीन विकेट लिए ।

त्यसअघि, टस जितेर पहिला ब्याटिङ गरेको मुल्तानले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८० रन बनायो ।

उसका लागि तीन ब्याट्सम्यानले आक्रामक पारी खेले । सोहीब मक्सूदले ४१ बलमा सात चौका र तीन छक्कासहित ५९ र जोनसन चार्ल्सले २१ बलमा तीन छक्का र तीन चौकाको मद्दतमा ४१ रन बनाए ।

त्यस्तै, खुशदील साहले २२ बलमा ५ छक्कासहित अविजित ४४ रनको पारी खेले । शन मसूद २५ रनमा आउट हुँदा सोहेल तनवीर १२ रनमा अविजित रहे ।

बलिङमा कप्तान सादव खान, फहीम अस्रफले दुई/दुई र अकिफ जाविदले एक विकेट लिए ।

बाहिरियो गत सिजनको विजेता कराची

गएराति नै भएको पहिलो इमिमिनेटर म्याचमा कराची किंग्सविरुद्ध पेशावर जाल्मी ५ विकेटले विजयी भएको छ ।

कराचीले दिएको १ सय ७६ रनको लक्ष्य पेशावरले १९.५ ओभरमा ५ विकेट गुमाएर भेट्टायो ।

उसका लागि हजरतुल्लाह जाजाईले सर्वाधिक ७७ रन बनाए । बलिङमा थिसरा परेराले सर्वाधिक दुई विकेट हात पारे ।

त्यसअघि, टस हारेर ब्याटिङको मौका पाएको कराचीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७५ रन बनायो ।

उसका लागि बाबर आजमले सर्वाधिक ५३ रन बनाए । बलिङमा वाहब रियाज, मोहम्मद इरफान र उमैद असिफले सर्वाधिक दुई/दुई विकेट लिए ।

Loading...