यी चार नेपाली ब्याट्सम्यान : जो स्पेन सिरिजमा शतक बनाउन सक्छन्

काठमाडौं : नेपालले आउँदो जुलाईमा आईसीसी विश्वकप लिग–२ अन्तर्गत एकदिवसीय त्रिकोणात्मक सिरिज खेल्दैछ।

सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान) ले प्रारम्भिक टोली पनि घोषणा गरिसकेको छ। नेपालले आईसीसी विश्वकप लिग–२ अन्तर्गत सिरिज खेल्न लागेको हो।

सिरिज स्पेनमा हुने तालिका छ। स्कटल्याण्डमा हुने पूर्वनिर्धारित तालिका भए पनि कोरोनाका कारण यो सिरिज स्पेनमा आयोजना गरिने भएको हो। नेपालले डेढ वर्षपछि वानडे सिरिज खेल्न लागेको हो। कोरोनाका कारण नेपालले यो बीचमा एकदिवसीय सिरिज खेल्न पाएन।

लामो समयपछि विदेश भ्रमण गर्न लागेको नेपालको प्रदर्शन हेर्न लायक हुनेछ। नयाँ प्रशिक्षक डेभ ह्वाटमोरको आगमनसँग टिममा खेलाडीका सथै रणनीति परिवर्तन गरिएको छ। यसको अनुभूति वैशाखमा सम्पन्न टी–२० त्रिकाणोत्मक सिरिजमा पनि गरिएको थियो।

वानडे म्याचमा ब्याट्सम्यानबाट ठूलो पारीको आशा राखिएको हुन्छ। हालसम्म यो प्रारूपमा नेपाली ब्याट्सम्यानबाट विशाल पारी देख्न पाइएको छैन। यद्यपि, आसन्न सिरिजमा भने केही ब्याट्सम्यानबाट उत्कृष्ट पारीको अपेक्षा राखिएको छ।

यसैबीच, आज नामिबिया, स्कटल्याण्डसँगको सिरिजमा नेपालको तर्फबाट शतक बनाउन सक्ने चार ब्याट्सम्यानको चर्चा गर्दैछौँ :

कुशल भुर्तेल

कुशलका लागि घरेलु मैदानमा भएको टी–२० क्रिकोणात्मक सिरिज उत्कृष्ट रह्यो। डेब्यू सिरिजमै उनले चार अर्धशतक बनाए ।

कीर्तिमानी प्रदर्शन गरेका कुशल एकदिवसीय सिरिजका लागि पनि टोलीमा अटाएका छन्। उत्कृष्ट लयमा रहेका कुशलले वानडे सिरिजमा पनि डेब्यू गर्ने सम्भावना प्रवल छ।

उनले वानडेमा पनि ओपनिङ ब्याटसम्यानको भूमिका पाउने पक्का जस्तै छ । पारस खड्का वा कप्तान ज्ञानेन्द्र मल्लमध्ये एक ब्याट्सम्यान ओपनिङमा कुशललाई साथ दिने सम्भावना छ।

यस्तो भएमा अनुभवी र युवा ब्याट्सम्यानको तालमेल हेर्न लायक हुनेछ। कुशल आक्रामकरूपमा ब्याटिङ गर्न रुचाउँछन्। उनले टी–२० सिरिजमा सोही तरिकाले ब्याटिङ गरेका थिए। तर, वानडेमा केही धैर्यता चाहिन्छ।

वानडेमा प्रशस्त समय पनि हुने भएकाले पनि कुशलले आसन्न सिरिजमा शतक बनाउन सक्छन्। उनले आफ्नो डेब्यू टी–२० सिरिजको पाँच म्याचमा चार अर्धशतकका साथ २ सय ७८ रन बनाएका थिए।

 पारस खड्का 

पारस नेपाली टिमका सबैभन्दा महत्वपूर्ण ब्याट्सम्यान हुन्। उनले कयौँ पटक एक्लैले म्याच जिताएका छन्। जुलाईमा हुने सिरिजमा पनि पारसबाट ठूलो आशा राखिएको छ।

उनी वानडेमा प्रायः तेस्रो नम्बरमा ब्याटिङ गर्छन्। यो स्थान ब्याटसम्यानका लागि निकै महत्वपूर्ण हो । हालसम्म पारसले १० एकदिवसीय म्याच खेलेका छन्।

जसमा उनले एक शतकसमेत बनाइसकेका छन्। आउँदो त्रिकोणात्मक सिरिजमा पनि पारसले शतक बनाउन सक्छन्। वानडेमा उनको उच्च स्कोर ११५ रन हो।

दीपेन्द्रसिंह ऐरी

नेपाली टिमका उपकप्तानसमेत रहेका दीपेन्द्रसिंह ऐरीका लागि वैशाखमा भएको त्रिकोणात्मक टी–२० सिरिज उत्कृष्ट रह्यो। सो सिरिजमा उनले आक्रामक ब्याटिङ गरे। वानडेमा दीपेन्द्र प्रायः चौथो नम्बरमा ब्याटिङ गर्छन्।

उनले यो स्थानबाट टिमलाई महत्वपूर्ण योगदान पनि दिइरहेका छन्। हालसम्म वानडेमा अर्धशतकसमेत बनाउन नसकेका दीपेन्द्रबाट आसन्न सिरिजमा भने शतकको आशा राखिएको छ।

हालसम्म उपकप्तान ऐरीले १० वानडे म्याच खेलेका छन्। जसमा उनले १५९ रन बनाएका छन्। यो प्रारूपमा दीपेन्द्रको उच्च स्कोर ४० रन हो।

ज्ञानेन्द्र मल्ल

नेपाली टिमका कप्तान ज्ञानेन्द्र मल्लले आउँदो सिरिजमा कुशललाई ओपनिङमा साथ दिने पक्का जस्तै छ। उनले पनि वैशाखामा त्रिवि क्रिकेट मैदानमा भएको त्रिकोणात्मक सिरिजमा ठीकठाक प्रदर्शन गरे।

ठूलो इनिङ्स खेल्न नसके पनि सो सिरिजमा कप्तान मल्लले आक्रामक पारी खेलेका थिए। उनले हालसम्म वानडेमा दुई अर्धशतक बनाइसकेका छन्। आसन्न सिरिजमा भने उनबाट शतकको आशा राखिएको छ।

ओपनिङ ब्याट्सम्यान पनि भएकाले पनि कप्तान मल्लबाट शतकको आशा राखिएको हो। उनले हालसम्म १० वानडे म्याचमा दुई अर्धशतकको मद्दतमा २ सय २२ रन बनाएका छन्।

Loading...