त्रिकोणात्मक सिरिजको तयारी यसरी गर्दैछ नेपाल (फोटो फिचर)

काठमाडौं : आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको लागि नेपाली राष्ट्रिय क्रिकेट टिमले बन्द प्रशिक्षण सुरु गरेको छ । टिमले आजदेखि कीर्तिपुरस्थित टीयू मैदानमा प्रशिक्षण सुरु गरेको हो ।

मुख्य प्रशिक्षक डेभ वाटमोरको नेतृत्वमा नेपाली टिमले प्रशिक्षण सुरु गरेको क्यानले जनाएको छ।

यसअघि खेलाडी र अफिसियलको कोरोना परिक्षण गरिएको थियो। आईसीसी विश्वकप लिग-२ अन्तर्गत नेपाल, स्कटल्याण्ड र नामिबियाबीच सिरिज हुनेछ।

सिरिज जुलाई २० देखि ३० सम्म स्पेनमा हुने आईसीसीले जनाएको छ। खेल तालिका भने सार्वजनिक हुन बाँकी छ।

सिरिज स्पेनको अल्मेरियास्थित डेजर्ट स्प्रिंग्स क्रिकेट मैदानमा हुनेछ । यो मैदानमा पहिलो पटक अन्तराष्ट्रिय सिरिज हुन लागेको हो।

क्यानले बन्द प्रशिक्षणका लागि २० खेलाडीलाई बोलाएको थियो। तर, पृथु बास्कोटा प्रशिक्षणमा सहभागी भएका छैनन्।

व्यक्तिगत कारण देखाएर पृथुले बन्द प्रशिक्षणमा सहभागी हुन नसक्ने बताएको क्यानले जनाएको छ।

लिग अन्तर्गत नेपालले घरेलु मैदानमा ओमान र अमेरिकासँग ४ खेल खेलिसकेको छ। लिगमा नेपालले ४ खेलमा ४ अंक जोडेको छ।

र, नेपाल छैटौं स्थानमा रहेको छ। ओमान १० खेलमा १६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ। १२ खेलमा १२ अंक जोडेको अमेरिका दोस्रो स्थानमा रहेको छ।

बन्द प्रशिक्षणमा बोलाइएका खेलाडी : ज्ञानेन्द्र मल्ल (कप्तान), कुशल भुर्तेल, आरिफ शेख, पारस खड्का, दिपेन्द्र सिंह ऐरी (उपकप्तान), आशिफ शेख, कुशल मल्ल, विनोद भण्डारी (विकेटकीपर), शरद भेषवाकर, करण केसी, सन्दीप लामिछाने, सोमपाल कामी, कमल सिंह ऐरी, अविनाश बोहरा, सन्दीप जोरा, शाहब आलम, सुशान भारी, विक्रम शोब र पवन सराफ ।

 

Loading...