सन्दीपलाई अर्को झड्का

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टिमका स्पिनर सन्दीप लामिछानेले इंग्ल्याण्डको द हन्ड्रेड क्रिकेट प्रतियोगिताका सुरुवात म्याच गुमाउने भएका छन् ।

नेपालको त्रिकोणात्मक सिरिजका कारण उनले द हन्ड्रेडका सुरुवात म्याच गुमाउने भएका हुन् ।

आईसीसी विश्वकप लिग-टू अन्तर्गत नेपालले आउँदो २० जुलाईदेखि ३० जुलाईसम्म स्पेनमा स्कटल्याण्ड र नामिबियासँग त्रिकोणात्मक वानडे सिरिज खेल्दैछ ।

जुलाई २२ देखि द हन्ड्रेड प्रतियोगिता सुरु हुँदैछ । त्रिकोणात्मक सिरिज र द हन्ड्रेडसँगै भएकाले पनि सन्दीपले इंग्ल्याण्डको प्रतियोगिताका म्याच गुमाउने पम्का जस्तै छ ।

त्रिकोणात्मक सिरिज नखेलेर क्यानले सन्दीपलाई द हन्ड्रेड प्रतियोगिता खेल्न अनुमति दिने सम्भावना कम छ ।

Photo : Bishal, The Photographer

यो सिरिज महत्वपूर्ण भएकाले क्यान यो बीचमा आफ्ना प्रमुख खेलाडीलाई विदेशी लिगमा पठाउन चाहँदैन ।

सन्दीप पहिलो पटक हुन लागेको द हन्ड्रेडका लागि ओभल इन्भिन्सिबलमा अनुबन्ध भएका छन् । उनी यो प्रतियोगिताका लागि १ लाख पाउण्ड (१ करोड ४७ लाख २५ हजार रुपैयाँ)मा अनुबन्ध भएका हुन् ।

सन्दीप पहिलो पटक यति महँगो मूल्यमा लिगमा अनुबन्ध भएका हुन् । द हन्ड्रेडको फाइनल म्याच २१ अगस्टमा हुनेछ ।

सन्दीपआवद्ध ओभलले आफ्नो पहिलो म्याच २२ जुलाईमा खेल्दैछ । उसले उद्घाटन खेलमा म्यानचेस्टरको सामना गर्नेछ ।

सन्दीपले यही ९ जुनदेखि सुरु भएको इंग्ल्याण्डकी टी-२० ब्लास्ट पनि गुमाएका थिए । सो प्रतियोगिता भने उनले भिसाको ढिलाईले गुमाएका हुन् ।

ब्लास्टमा उनलाई वर्सेस्टसायर र्‍यापिडले अनुबन्ध गरेको थियो ।

भिसा ढिलाईले गर्दा र्‍यापिडले सन्दीपको स्थानमा न्यूजिल्याण्डका इश सोढीलाई अनुबन्ध गरेको थियो ।

Loading...