त्रिकोणात्मक वानडे सिरिज कति चुनौतीपूर्ण? यस्तो भन्छन् कप्तान र प्रशिक्षक

काठमाडौं- आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक वानडे सिरिजको लागि नेपाली क्रिकेट टोलीले बन्द प्रशिक्षण सुरु गरेको छ ।

टिमले आजदेखि कीर्तिपुरस्थित टीयू मैदानमा प्रशिक्षण सुरु गरेको हो ।

मुख्य प्रशिक्षक डेभ वाटमोरको नेतृत्वमा नेपाली टिमले प्रशिक्षण सुरु गरेको क्यानले जनाएको छ ।

यसअघि खेलाडी र अफिसियलको कोरोना परिक्षण गरिएको थियो। आईसीसी विश्वकप लिग-२ अन्तर्गत नेपाल, स्कटल्याण्ड र नामिबियाबीच सिरिज हुनेछ।

सिरिज जुलाई २० देखि ३० सम्म स्पेनमा हुने आईसीसीले जनाएको छ। खेल तालिका भने सार्वजनिक हुन बाँकी छ ।

सिरिज स्पेनको अल्मेरियास्थित डेजर्ट स्प्रिंग्स क्रिकेट मैदानमा हुनेछ । यो मैदानमा पहिलो पटक अन्तराष्ट्रिय सिरिज हुन लागेको हो ।

क्यानले बन्द प्रशिक्षणका लागि २० खेलाडीलाई बोलाएको थियो । तर, पृथु बास्कोटा प्रशिक्षणमा सहभागी भएका छैनन् ।

व्यक्तिगत कारण देखाएर पृथुले बन्द प्रशिक्षणमा सहभागी हुन नसक्ने बताएको क्यानले जनाएको छ ।

लिगअन्तर्गत नेपालले घरेलु मैदानमा ओमान र अमेरिकासँग ४ खेल खेलिसकेको छ । लिगमा नेपालले ४ खेलमा ४ अंक जोडेको छ ।

र, नेपाल छैटौं स्थानमा रहेको छ । ओमान १० खेलमा १६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । १२ खेलमा १२ अंक जोडेको अमेरिका दोस्रो स्थानमा रहेको छ ।

स्पेन जानुअघि के भन्छन् प्रशिक्षक र कप्तान? 

नेपाली टिमका प्रमुख प्रशिक्षक डेभ ह्वाटमोरले स्पेन जानुअघि आफ्नो प्रतिक्रिया दिएका छन् । उनले आसन्न सिरिजका लागि कडा मिहिनेत गरिरहेको बताए ।

उनले टी-२० भन्दा एकदिवसीय क्रिकेट धेरै परिवर्तन भएकाले ठोस योजनाका साथ मिहिनेत गरिरहेको बताएका हुन् ।

प्रशिक्षक ह्वाटमोरले अहिलेको मौसमअनुसार आफूहरूले तयारी गर्नुपर्ने बताए । केही दिनयता मौसमले साथ दिएकाले तयारी गर्न केही सहज हुने उनको भनाई छ ।

प्रशिक्षक ह्वाटमोरले आसन्न त्रिकोणात्मक सिरिजमा नेपालले राम्रो प्रभाव पार्नेमा विश्वस्त रहेको बताए । त्यसका लागि खेलाडी पूर्णमानसिकताका साथ तयार हुनुपर्नेमा उनको जोड छ ।

प्रशिक्षक ह्वाटमोरले केही अनुभवी खेलाडीको कमब्याकले टिम केही बलियो देखिएको बताए । साथै, उनले राम्रो क्षमताका बाबजुद टिम बाहिर रहेका युवा खेलाडीले क्रमशः मौका पाउनेसमेत बताए ।

के भन्छन् कप्तान?

टिम कप्तान ज्ञानेन्द्र मल्लले आगामी दिनमा नेपाली टिमले अगाडि बढ्ने हो भने स्कटल्याण्ड र नामिबियालाई पराजित गर्नुपर्ने बताए । उनले आसन्न सिरिज आफूहरूको परीक्षणको चरण पनि रहेको बताए ।

कप्तान मल्लले सिरिजमा नेपाल प्रायः बलियो टिमको दाबेदारको रूमपा हेरिने गरिए पनि नतिजा त्यसअनुसार आउन नगरेको बताए । आसन्न सिरिजमा भने आफूहरूले पार गर्नुपर्न उनको भनाई छ ।

कप्तान मल्लले पर्याप्त अभ्यासबिना स्पेन जाँदा चुनौती भने रहेको बताए । टी-२० भन्दा वानडे फरक विधा भएकाले बलियो योजनाका साथ सिरिजमा उत्रिनुपर्ने उनले बताए ।

Loading...