सन्दीपलाई रिलिज गरेको वर्सेस्टशायरको लज्जास्पद हार

काठमाडौं- इंग्ल्याण्डमा जारी भाइटीलिटी टी-२० ब्लास्टअन्तर्गत वर्सेस्टशायर र्‍यापिडविरुद्ध नटिङ्घमशायर १० विकेटले पराजित भएको छ ।

वर्सेस्टशायरले दिएको ८७ रनको झिनो लक्ष्य नटिङ्घमशायरले ६.२ ओभरमा बिनाविकेट पूरा गर्‍यो ।

उसका लागि एलेक्स हेल्सले २४ बलमा दुई छक्का र ११ चौकासहित अविजित ६० रन बनाए । त्यस्तै, जो क्लार्क १४ बलमा दुई चौका र एक छक्काका साथ २६ रनमा अविजित रहे ।

त्यसअघि, टस हारेर ब्याटिङको मौका पाएको वर्सेस्टशायरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ८६ रन बनायो ।

उसका लागि ज्याक लिब्बीले सर्वाधिक २९, रस व्हाइटलीले १५, बेन द्व्वारह्युज १२ र एब बर्नार्डले १० रन बनाए ।

बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।

बलिङमा समित पटेलले उत्कृष्ट प्रदर्शन गरे । उनले चार ओभरमा एक मेडनसहित चार रन दिएर तीन विकेट लिए ।

त्यस्तै, ज्याक बलले तीन र स्टिभन मुल्लानीले दुई विकेट हात पारे ।

जारी सिजनमा नटिङ्घमशायरको यो चौथो जित हो । उसले ७ म्याचमध्ये चारमा जित र एक खेलमा हारको सामना गरेको छ ।

दुई खेलमा भने वर्षा बाधक बन्दा नटिङ्घमशायरले अंक बाँडेको छ । ऊ अंक तालिकाको शीर्ष स्थानमा छ ।

यता बर्सेस्टशायर भने ६ म्याच खेल्दा दुई खेलमा मात्र जित हासिल गर्न सफल भएको छ । दुई खेलमा हारको सामना गर्दा उसले पनि दुई खेलमा भने अंक बाँडेको छ ।

सन्दीप रिलिज भएको वर्सेस्टशायर

वर्सेस्टशायरले जारी सिजनका लागि नेपाली लेगस्पिनर सन्दीप लामिछानेलाई अनुबन्ध गरेको थियो । तर, भिसा समस्याका कारण इंग्ल्याण्ड ढीला पुग्ने भएपछि उनलाई बर्सेस्टशायरले रिलिज गर्‍यो ।

सन्दीपको स्थानमा बर्सेस्टशायरले न्यूजिल्याण्डका स्पिनर इश सोढीलाई भित्र्यायो । उनले गएराति भएको नटिङ्घमशायरसँगको खेलमा २ ओभरमा बिनाविकेट ३४ रन खर्चिए ।

Loading...