विलियम्सनको ब्याटिङ देखेर सहवागलाई लाग्यो निन्द्रा! (भिडियोसहित)

काठमाडौं । इंग्ल्याण्डको साउथह्याम्टनमा जारी विश्व टेष्ट च्याम्पियनशिप फाइनलमा न्यूजिल्याण्ड टिमका कप्तान केन विलियम्सनले पहिलो पारीमा ४९ रन बनाए ।

उनले १७७ बलमा ६ चौकासहित ४९ रन बनाएका हुन् । एक समय विलियम्सनले ११२ बलको सामना गर्दा केवल १९ रन बनाएका थिए ।

यसक्रममा विलियम्सनले दुई चौका हिर्काएका थिए । सो समयमा उनको स्ट्राइक रेट १६.९६ को थियो ।

विलियम्सनको यो प्रदर्शन देखेर भारतीय टिमका पूर्वआक्रामक ब्याट्सम्यान वीरेन्द्र सहवागले सामाजिक सञ्जालमा मजाक उडाएका छन् ।

उनले ट्वीटरमार्फत् एक व्यंग्य भिडियो सार्वजनिक गर्दै विलियम्सनको मजाक उडाएका हुन् ।

सहवागले ट्वीटरमा लेखेका छन्, ‘विलियम्सन आज पीजमा ।’

भिडियोसँगै उनको पृष्ठभूमिमा ‘मुझको नीद आ रही है, सोने दो…’ गीत बजिरहेको सुनिन्छ । अर्थात् सहवागको व्यंग्य थियो- विलियम्सनको ब्याटिङ देखेर निन्द्रा लाग्यो ।

च्याम्पियनशिप फाइनल भइरहेको पीचमा कुनै पनि अनुभवी ब्याट्सम्यानले आक्रामक तरिकाले खेल्न सकेका छैनन् ।

भारतीय टिमका कप्तान विराट कोहलीले पहिलो पारीमा १३२ बलको सामना गर्दा ४४ रन बनाएका थिए ।

पहिलो पारीमा न्यूजिल्याण्ड २४९ रनमा अलआउट

भारतसँगको टेष्ट च्याम्पियनशिप फाइनलको पहिलो पारीमा न्यूजिल्याण्ड २४९ रनमा अलआउट भएको छ ।

उसका लागि डेभन कन्वेले ७७, कप्तान केन विलियम्सनले ४९, टम लाथम, टिम साउथीले ३०/३०, काइल जेमिसनले २१, कोलिन डीग्रान्डहोमले १३ र रस टेलरले ११ रन बनाए ।

बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।

बलिङमा मोहम्मद शामीले चार, इशान्त शर्माले तीन, रविचन्द्रन आश्विनले दुई र रवीन्द्र जडेजाले एक विकेट लिए ।

यो अवस्थामा न्यूजिल्याण्ड ३२ रनले अग्रता बनाएको छ ।

भारतीय टिमका महत्वपूर्ण बलर जसप्रीत बुमराह भने पहिलो पारीमा विकेटविहीन रहे । उनले २६ ओभरमा ९ मेडनसहित बिनाविकेट ५७ रन खर्चिए ।

पहिलो इनिङ्समा भारत २ सय १७ रनमा समेटिएको थियो ।

टस हारेर ब्याटिङको निम्तो पाएको भारतले खेलको दोस्रो दिनमा २ सय १७ रनमा अलआउट भयो । उसले पहिलो पारीमा ९२.१ ओभर मात्र खेल्न सक्यो ।

भारतका लागि उपकप्तान अजिंक्य रहाणेले ४९, कप्तान विराट कोहलीले ४४, रोहित शर्माले ३४, रविचन्द्रन आश्विनले २२, रवीन्द्र जडेजाले १५, चेतेश्वर पुजाराले आठ र ऋषभ पन्त र इशान्त शर्माले चार/चार रन बनाए ।

बलिङमा काइल जेमिसनले पाँच, नील वाग्नरले दुई, ट्रेन्ट बोल्टले दुई/दुई र टिम साउथीले एक विकेट लिए ।

Loading...