विश्व क्रिकेटका सफल कप्तान स्यामीले पाए महत्वपूर्ण पद

काठमाडौं- अलराउन्डर डारेन स्यामी वेष्ट इण्डिज क्रिकेट बोर्ड निर्देशक समितिको सदस्य नियुक्त भएका छन् ।

आफ्नै नेतृत्वमा दुई पटक वेष्ट इण्डिजलाई आईसीसी टी-२० विश्वकप जिताएका स्यामीलाई क्रिकेट वेष्ट इन्डिजले स्वतन्त्र निर्देशकको रूपमा नियुक्त गरेको हो ।

क्रिकेट वेष्ट इण्डिजले गत बिहीबार दुई वर्षका लागि तीन जना निर्देशक नियुक्त गर्दा स्यामी त्यसमध्येका एक हुन् ।

उनीसँगै ट्रीनबागोका डेब्रा कोरयाट पट्टोन र जमैकाका सर्जन तथा विश्वविद्यालयका प्रशासनक डा. अक्षय मानसिंह पनि नियुक्त भएका छन् ।

दुई जनाले भने दोस्रो कार्यकालका लागि नियुक्ति पाएका हुन् । पछिल्लो पटक सन् २०२० को क्यारेबियन प्रिमियर लिग (सीपीएल) फाइनल खेलेका स्यामी हाल पीएसएलको पेशावर जल्मीको प्रमुख प्रशिक्षक छन् ।

उनी सन् २०२१ को सीपीएल संस्करणको ब्राण्ड एम्बेसडरसमेत छन् ।

स्यामीले एक वक्तव्य जारी गरी वेष्ट इण्डिज क्रिकेटलाई नयाँ बाटोमा डोर्‍याउन आफ्नो लागि निर्देशकको भूमिका नयाँ अवसर हुने प्रतिक्रिया दिएका छन् ।

उनले अझै अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा गरेका छैनन् । उनले वेष्ट इण्डिजका लागि १२६ वानडे, ६८ टी-२० र ३८ टी-२० म्याच खेलेका छन् ।

उनले आरसीबी, पञ्जाब र हैदराबादबाट आईपीएलसमेत खेलिसकेका छन् । साथै, उनले अष्ट्रेलियाको चर्चित बिग बास लिग (बीबीएल) पनि खेलेका छन् ।

विश्व क्रिकेटमा स्यामी टिम रणनीति बनाउन माहिर कप्तानको रूपमा चिनिन्छन् । उनले आफ्नो प्रशिक्षणमा जारी सिजनको पीएसएलमा पेशावरलाई फाइनलमा पुर्‍याएका छन् ।

Loading...