भारतलाई हराउँदै न्यूजिल्याण्डले जित्यो च्याम्पियनशिपको उपाधि

काठमाडौं । विश्व टेष्ट च्याम्पियनशिपको उपाधि न्यूजिल्याण्डले जितेको छ ।

आज साउथह्याम्टनमा भारतलाई ८ विकेटले हराउँदै न्यूजिल्याण्डले पहिलो संस्करणको च्याम्पियनशिप फाइनलको उपाधि जितेको हो ।

1324915478

फाइनलमा भारतले दिएको १ सय ३९ रनको सामान्य लक्ष्य न्यूजिल्याण्डले ७.१ ओभर बाँकी रहँदै जित्यो ।

उसका लागि कप्तान केन विलियम्सनले ५२, रस टेलरले अविजित ४७, डेभन कन्वेले १९ र टम लाथमले ९ रन बनाए ।

बलिङमा रविचन्द्रन आश्विनले दुई विकेट लिए ।

न्यूजिल्याण्ड पहिलो पारीमा २४९ रनमा अलआउट भएको थियो ।

उसका लागि सो पारीमा डेभन कन्वेले ७७, कप्तान केन विलियम्सनले ४९, टम लाथमले ३०, टिम साउथीले ३०, काइल जेमिसनले २१, कोलिन डीग्रान्डहोमले १३ र रस टेलरले ११ रन बनाए ।

बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।

बलिङमा मोहम्मद शामीले चार, इशान्त शर्माले तीन, रविचन्द्रन आश्विनले दुई र रवीन्द्र जडेजाले एक विकेट लिए ।

भारत पहिलोमा २१७ र दोस्रोमा १७० रनमै अलआउट

पहिलो इनिङ्समा भारत २ सय १७ रनमै समेटिएको थियो । टस हारेर ब्याटिङको निम्तो पाएको भारत खेलको दोस्रो दिनमा २ सय १७ रनमा अलआउट भयो ।

उसले पहिलो पारीमा ९२.१ ओभर मात्र खेल्न सक्यो ।

भारतका लागि उपकप्तान अजिंक्य रहाणेले ४९, कप्तान विराट कोहलीले ४४, रोहित शर्माले ३४, रविचन्द्रन आश्विनले २२, रवीन्द्र जडेजाले १५, चेतेश्वर पुजाराले आठ र ऋषभ पन्त र इशान्त शर्माले चार/चार रन बनाए ।

बलिङमा काइल जेमिसनले पाँच, नील वाग्नर, ट्रेन्ट बोल्टले दुई/दुई र टिम साउथीले एक विकेट लिए ।

दोस्रो पारीमा भने भारत १७० रनमै समेटियो ।

दोस्रो पारीमा ऋषभ पन्तले ४१, रोहित शर्माले ३०, रवीन्द्र जडेजाले १६, चेतेश्वर पुजारा, अजिंक्य रहाणेले १५/१५, कप्तान विराट कोहली, मोहम्मद शामीले १३/१३ रन बनाए ।

बाँकी ब्याट्सम्यानले दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।

बलिङमा टिम साउथीले चार, ट्रेन्ट बोल्टले तीन, काइल जेमिसनले दुई र नील वाग्नरले एक विकेट लिए ।

जितसँगै कति पायो न्यूजिल्याण्डले पुरस्कार?

जितसँगै न्यूजिल्याण्डले ट्रफीसहित १६ लाख अमेरिकी डलर अर्थात् करिब १८ करोड ५ लाख रुपैयाँ पुरस्कार पाएको छ ।

उपविजेता भारतले भने ८ लाख अमेरिकी डलर अर्थात् करिब ९ करोड ३७ लाख रुपैयाँमा चित्त बुझाएको छ ।

फाइनल खेल बराबरीमा सकिएको अवस्थामा दुवै टिमले १२/१२ लाख डलर पाउने थिए । तर, खेल त्यसो हुन सकेन ।

साथै, टेष्ट च्याम्पियनशिपको तेस्रो स्थानमा पुग्न सफल अष्ट्रेलियाले ४ लाख ५० हजार डलर, चौथो स्थानको इंग्ल्याण्डले ३ लाख ५० हजार डलर र पाँचौं टिम पाकिस्तानले २ लाख डलर पुरस्कार पाएको छ ।

टेष्ट च्याम्पियनसिपमा भाग लिएका अन्य टोलीले एक/एक लाख डलर हात पारे ।

आईसीसी टेष्ट च्याम्पियनशिपको पहिलो सिजनमा ९ टोलीले सहभागिता जनाएका थिए ।

वाटलिङले तोडे धोनीको रेकर्ड

न्यूजिल्याण्ड टिमका विकेटकीपर/ब्याट्सम्यान बिजे वाटलिङले नयाँ कीर्तिमान बनाएका छन् ।

उनले न्यूजिल्याण्डको तर्फबाट टेष्ट क्रिकेटमा विकेटकीपरको भूमिका निर्वाह गरेर सर्वाधिक क्याच पक्रिने कीर्तिमान बनाएका हुन् ।

भारतसँगको विश्व टेष्ट च्याम्पियनशिप फाइनलमा पाँच ब्याट्सम्यानको क्याच पक्रिएसँगै वाटलिङले यो उपलब्धि हासिल गरे ।

उनले १२७ टेष्टमा २५७ क्याच पक्रिए ।

योसँगै वाटलिङले भारतीय टिमका पूर्वकप्तान तथा विकेटकीपर महेन्द्रसिंह धोनीको कीर्तिमान पनि भंग गरेका छन् ।

धोनीले आफ्नो टेष्ट करियरमा १६६ इनिङ्समा २५६ क्याच पक्रिएका थिए ।

वाटलिङले टेष्ट च्याम्पियनशिप फाइनल खेलसँगै अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका छन् ।

उनले यसअघि नै च्यापिम्यनशिप फाइनल खेलेर संन्यास लिने घोषणा गरिसकेका थिए ।

जाँदाजाँदै उनले धोनीको कीर्तिमान भंग गर्न पनि सफल भए ।

टेष्ट क्रिकेटमा सर्वाधिक क्याच पक्रिने विकेटकीपरको शीर्ष स्थानमा भने दक्षिण अफ्रिकाका मार्क बाउचरको नाम आउँछ ।

उनले आफ्नो टेष्ट करियरमा २८१ इनिङ्समा सर्वाधिक ५ सय ३२ ब्याट्सम्यानको क्याच पक्रिए ।

Loading...