यी चार मुख्य कारण : जसले गर्दा फाइनलमा भारत पराजित

काठमाडौं- विश्व टेष्ट च्याम्पियनशिपको उपाधि न्यूजिल्याण्डले जितेको छ ।

आज साउथह्याम्टनमा भारतलाई ८ विकेटले हराउँदै न्यूजिल्याण्डले पहिलो संस्करणको च्याम्पियनशिप फाइनलको उपाधि जितेको हो ।

फाइनलमा भारतले दिएको १ सय ३९ रनको सामान्य लक्ष्य न्यूजिल्याण्डले ७.१ ओभर बाँकी रहँदै जित्यो ।

उसका लागि कप्तान केन विलियम्सनले ५२, रस टेलरले अविजित ४७, डेभन कन्वेले १९ र टम लाथमले ९ रन बनाए ।

बलिङमा रविचन्द्रन आश्विनले दुई विकेट लिए ।

न्यूजिल्याण्ड पहिलो पारीमा २४९ रनमा अलआउट भएको थियो ।

उसका लागि सो पारीमा डेभन कन्वेले ७७, कप्तान केन विलियम्सनले ४९, टम लाथमले ३०, टिम साउथीले ३०, काइल जेमिसनले २१, कोलिन डीग्रान्डहोमले १३ र रस टेलरले ११ रन बनाए ।

बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।

बलिङमा मोहम्मद शामीले चार, इशान्त शर्माले तीन, रविचन्द्रन आश्विनले दुई र रवीन्द्र जडेजाले एक विकेट लिए ।

भारत पहिलोमा २१७ र दोस्रोमा १७० रनमै अलआउट

पहिलो इनिङ्समा भारत २ सय १७ रनमै समेटिएको थियो । टस हारेर ब्याटिङको निम्तो पाएको भारत खेलको दोस्रो दिनमा २ सय १७ रनमा अलआउट भयो ।

उसले पहिलो पारीमा ९२.१ ओभर मात्र खेल्न सक्यो ।

भारतका लागि उपकप्तान अजिंक्य रहाणेले ४९, कप्तान विराट कोहलीले ४४, रोहित शर्माले ३४, रविचन्द्रन आश्विनले २२, रवीन्द्र जडेजाले १५, चेतेश्वर पुजाराले आठ र ऋषभ पन्त र इशान्त शर्माले चार/चार रन बनाए ।

बलिङमा काइल जेमिसनले पाँच, नील वाग्नर, ट्रेन्ट बोल्टले दुईरदुई र टिम साउथीले एक विकेट लिए ।

दोस्रो पारीमा भने भारत १७० रनमै समेटियो ।

दोस्रो पारीमा ऋषभ पन्तले ४१, रोहित शर्माले ३०, रवीन्द्र जडेजाले १६, चेतेश्वर पुजारा, अजिंक्य रहाणेले १५/१५, कप्तान विराट कोहली, मोहम्मद शामीले १३/१३ रन बनाए ।

बाँकी ब्याट्सम्यानले दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।

बलिङमा टिम साउथीले चार, ट्रेन्ट बोल्टले तीन, काइल जेमिसनले दुई र नील वाग्नरले एक विकेट लिए ।
भारत फाइनलम हार्नुका मुख्य चार कारण

अनुभवी ब्याट्सम्यानको खराब प्रदर्शन : भारतले च्याम्पियनशिप फाइनल हार्नुमा अनुभवी ब्याट्सम्यानको कमजोर प्रदर्शन प्रमुख रह्यो । टिमका कुनै पनि ब्याट्सम्यानले अर्धशतक बनाउन सकेनन् ।

ओपनद्वय रोहित शर्मा र शुभमन गिलले पहिलो पारीमा भारतलाई राम्रो सुरुवात दिलाएका थिए । तर, उनीहरूले पनि ठूलो पारी खेल्न सकेनन् ।

साथै, टिमका कप्तान विराट पहिलोमा ४४ र दोस्रो पारीमा १३ रनमै आउट भए । त्यस्तै, उपकप्तान अजिंक्य रहाणे पहिलोमा ४९ र दोस्रो इनिङ्समा १५ रनमै पवेलिएनको दिशा फर्किए ।

टेष्ट टिमका अर्का महत्वपूर्ण ब्याट्सम्यान चेतेश्वर पुजाराको ब्याट पनि फाइनलमा चलेन । उनले दुई पारीमा केवल २३ रन मात्र बनाउन सके ।

त्यस्तै, तल्लो क्रमका ब्याट्सम्यान पनि सस्तैमा आउट भए । अलराउन्डरद्वय रविचन्द्रन आश्विनले दुई पारीमा गरी २९ र रवीन्द्र जडेजाले ३१ रन मात्र बनाउन सके ।

जेमिसनको उत्कृष्ट बलिङ

भारत हार्नुको अर्को मुख्य कारण तीव्र गतिका बलर काइल जेमिसनको उत्कृष्ट बलिङ पनि हो । उनले पहिलोमा ५ र दोस्रो पारीमा महत्वपूर्ण दुई विकेट लिए ।

जेमिसनले पहिलो पारीमा २२ ओभरमा १२ मेडनसहित ३१ रन दिएर ५ र दोस्रो इनिङ्समा २४ ओभर बलिङ गर्दा १० मेडनसहित ३० रन दिँदै दुई विकेट हात पारे । उनले दुवै इनिङ्समा एक पनि चौका दिएनन् ।

पन्तको खराब शट छनोट

युवा विकेटकीपर/ब्याट्सम्यान ऋषभ पन्तले दोस्रो पारीमा सर्वाधिक सर्वाधिक ४१ रन बनाए । तर, उनले ड्र हुने म्याच न्यूजिल्याण्डलाई सुम्पाउन महत्वपूर्ण योगदान दिए ।

भारतीय क्रिकेट कमेन्टेटरहरू पन्तको खराब शटको कारण आउट भएको बताउँछन् । टीभी कमेन्ट्रीका कारण आकाश चोपडा, बीबीएस लक्ष्मण, इरफान पठानलगायतले उनको शटको बेलाबेला चर्चा गरे ।

पहिलो पारीमा पनि पन्त खराब शटकै कारण चार रनमा आउट भएका थिए । यदि उनले धैर्य गरेर खेलेको भए म्याच ड्र हुने सम्भावना प्रवल थियो । तर, पन्त आउट भएसँगै बाँकी ब्याट्सम्यान सस्तैमा मैदान बाहिरिए ।

बुमराह शान्त हुनु

भारतीय टिमका सबैभन्दा आशा गरिएका तीव्र गतिका बलर जसप्रीत बुमराह च्याम्पियनशिप फाइनलमा भने विकेटकविहीन भए ।

बुमराहले पहिलो इनिङ्समा २६ ओभरमा ९ मेडन दिँदा बिनाविकेट ५७ रन खर्चिए । दोस्रो पारीमा पनि उनले विकेट लिन सकेनन् । दोस्रो इनिङ्समा बुमराहले १०.४ ओभरमा २ मेडनसहित बिनाविकेट ३५ रन खर्चिए ।

यद्यपि, उनले दोस्रो पारीमा रस टेलरलाई आउट गर्ने मौका दिएका थिए । तर, चेतेश्वर पुजाराले क्याच फर्कन सकेनन् ।

फाइनलमा बुमराह विकेटविहीन हुनु पनि भारत हार्नुको कारण बन्यो ।

Loading...