WTC फाइनल हारेपछि के भन्छन् कप्तान कोहली?

काठमाडौं- न्यूजिल्याण्डसँगको विश्व टेष्ट च्याम्पियनशिपको फाइनल म्याच हारेपछि भारतीय टिमका कप्तान विराट कोहलीले आफ्नो प्रतिक्रिया दिएका छन् ।

उनले अन्तिम दिनमा न्यूजिल्याण्ड टिमका बलरको उत्कृष्ट प्रदर्शनले टिम हारेको बताए । साथै, उनले आफूहरूको रणनीतिले काम नगर्दा पनि पराजित हुन पुगेको बताए ।

‘न्यूजिल्याण्डले म्याच अवधिभर नै भारतमाथि दबाब राख्न सफल भयो । उसले राम्रो क्रिकेट खेल्यो । म्याचको दोस्रो दिन बलरलाई गति प्राप्त गर्न निकै मुश्किल थियो । तथापि पहिलो पारीमा बलिङमार्फत राम्रो प्रदर्शन गरेका थियौँ,’ विराटले म्याच सकिएपछि प्रेस कन्फरेन्समा भने, ‘खेलको अन्तिम दिन (बुधबार) भारतको पक्षमा रहेन । अन्तिम दिन न्यूजिल्याण्डका बलरको रणनीति सफल भयो ।’

विराटले आफ्नो टिमले ३०/४० रन बढी बनाएको भए म्याच जे पनि हुन सक्ने बताए । उनले भने, ‘हामी उनीहरूलाई राम्रो लक्ष्य दिनुअघि ३०/४० रनले पछि थियौँ । ३०/४० रन बढी बनाउन सकेको भए म्याच जे पनि हुन सक्थ्यो ।’

प्लेइङ-११ को अग्रिम घोषणा गरेकोमा आफूलाई दुःख नलागेको विराटको भनाइ छ । ‘टोलीमा एक अलराउन्डर चाहिन्छ, हामीले सर्वसम्मतिले निर्णय गर्यौँ । र, प्लेइङ-११ को घोषणा गरेका हैँ,’ उनले भने ।

विश्व टेष्ट च्याम्पियनशिपको उपाधि न्यूजिल्याण्डले जितेको छ ।

गएराति साउथह्याम्टनमा भारतलाई ८ विकेटले हराउँदै न्यूजिल्याण्डले पहिलो संस्करणको च्याम्पियनशिप फाइनलको उपाधि जितेको हो ।

फाइनलमा भारतले दिएको १ सय ३९ रनको सामान्य लक्ष्य न्यूजिल्याण्डले ७.१ ओभर बाँकी रहँदै जित्यो ।

उसका लागि कप्तान केन विलियम्सनले ५२, रस टेलरले अविजित ४७, डेभन कन्वेले १९ र टम लाथमले ९ रन बनाए ।

बलिङमा रविचन्द्रन आश्विनले दुई विकेट लिए ।

न्यूजिल्याण्ड पहिलो पारीमा २४९ रनमा अलआउट भएको थियो ।

उसका लागि सो पारीमा डेभन कन्वेले ७७, कप्तान केन विलियम्सनले ४९, टम लाथमले ३०, टिम साउथीले ३०, काइल जेमिसनले २१, कोलिन डीग्रान्डहोमले १३ र रस टेलरले ११ रन बनाए ।

बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।

बलिङमा मोहम्मद शामीले चार, इशान्त शर्माले तीन, रविचन्द्रन आश्विनले दुई र रवीन्द्र जडेजाले एक विकेट लिए ।

भारत पहिलोमा २१७ र दोस्रो इनिङ्समा १७० रनमै अलआउट

पहिलो इनिङ्समा भारत २ सय १७ रनमै समेटिएको थियो । टस हारेर ब्याटिङको निम्तो पाएको भारत खेलको दोस्रो दिनमा २ सय १७ रनमा अलआउट भयो ।

उसले पहिलो पारीमा ९२.१ ओभर मात्र खेल्न सक्यो ।

भारतका लागि उपकप्तान अजिंक्य रहाणेले ४९, कप्तान विराट कोहलीले ४४, रोहित शर्माले ३४, रविचन्द्रन आश्विनले २२, रवीन्द्र जडेजाले १५, चेतेश्वर पुजाराले आठ र ऋषभ पन्त र इशान्त शर्माले चार/चार रन बनाए ।

बलिङमा काइल जेमिसनले पाँच, नील वाग्नर, ट्रेन्ट बोल्टले दुईरदुई र टिम साउथीले एक विकेट लिए ।

दोस्रो पारीमा भने भारत १७० रनमै समेटियो ।

दोस्रो पारीमा ऋषभ पन्तले ४१, रोहित शर्माले ३०, रवीन्द्र जडेजाले १६, चेतेश्वर पुजारा, अजिंक्य रहाणेले १५/१५, कप्तान विराट कोहली, मोहम्मद शामीले १३/१३ रन बनाए ।

बाँकी ब्याट्सम्यानले दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।

बलिङमा टिम साउथीले चार, ट्रेन्ट बोल्टले तीन, काइल जेमिसनले दुई र नील वाग्नरले एक विकेट लिए ।

Loading...