स्पेन भ्रमण स्थगित हुँदा सन्दीपलाई भने फाइदा!

काठमाडौं- आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपालसहित तीन टिमले खेल्ने भनिएको त्रिकोणात्मक एकदिवसीय सिरिज स्थगित भएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)का अनुसार नामिबियामा कोरोना भाइरसले स्थिति असहज भएपछि सिरिज स्थगित गर्नु परेको हो ।

नामिबिया क्रिकेट टिमका चारभन्दा बढी खेलाडीलाई कोरोना संक्रमण देखिएपछि तत्काल सिरिज गर्न गाह्रो भएको हो ।

बिहीबार आईसीसीले नामिबियामा कोभिडका कारण तयारी गर्न असम्भव भएको र यात्रा प्रतिबन्धलाई अझ कडा पारिएका कारण सिरिज स्थगित गर्नु परेको जनाएको छ ।

सिरिज आगामी साउन ५ बाट सुरु भएर साउन १५ मा सकिने तय थियो । सिरिजका लागि नेपाली टिमले बुधबारदेखि प्रशिक्षण सुरु गरेको थियो ।

सिरिज दक्षिण स्पेनको डेजर्ट स्प्रिङ्ग्स मैदानमा हुने तय थियो । यो मैदानले केहीअघि मात्र एकदिवसीय मैदानको मान्यता पाएको थियो । त्यसैले नेपाल, नामिबिया र स्कटल्यान्डबीचको सिरिज स्पेनमा हुने पहिलो एकदिवसीय खेल हुँदै थियो ।

कोरोना भाइरसका कारण लिग-२ का अधिकांस खेल प्रभावित भएका छन्। स्थिति सहज भएको अवस्थामा यो सिरिज गत वर्ष नै स्कटल्यान्डमा हुने तय थियो ।

प्रत्येक टिमले ९ सिरिज खेल्नु पर्ने लिग-२ मा नेपालले अहिलेसम्म एक सिरिज मात्र खेलेको छ । २०७६ फागुनमा नेपालमा भएको सिरिजमा नेपाल, अमेरिका र ओमानले प्रतिस्पर्धा गरेका थिए ।

सिरिजमा नेपालले दुई खेलमा जित हात पारेको थियो। नेपालले अमेरिकालाई दुवै खेलमा हराउँदा ओमानविरुद्धको दुवै खेल गुमाएको थियो ।

सन्दीपलाई राहत

स्पेनमा हुने सिरिज स्थगित भएपछि नेपाली राष्ट्रिय टोलीका स्पिनर सन्दीप लामिछानेले द हन्ड्रेडका पूरा म्याच खेल्न पाउने भएका छन् ।

इंग्ल्याण्डमा पहिलो पटक हुन लागेको यो प्रतियोगिताका लागि उनी ओभल इन्भिन्सिबलमा अनुबन्ध भएका छन् ।

नेपालको सिरिज स्थगित नभएको अवस्थामा चाहिँ सन्दीपले द हन्ड्रेडका केही म्याच गुमाउने थिए ।

आईसीसी विश्वकप लिग-टू अन्तर्गत नेपालले आउँदो २० जुलाईदेखि ३० जुलाईसम्म स्पेनमा स्कटल्याण्ड र नामिबियासँग त्रिकोणात्मक वानडे सिरिज खेल्ने तालिका थियो । तर, सो सिरिज आज स्थगित हुन पुग्यो ।

जुलाई २२ देखि द हन्ड्रेड प्रतियोगिता सुरु हुँदैछ । त्रिकोणात्मक सिरिज र द हन्ड्रेडसँगै भएकाले पनि सन्दीपले इंग्ल्याण्डको प्रतियोगिताका म्याच गुमाउने पक्का थियो । सन्दीप ओभलमा १ लाख पाउण्ड (१ करोड ४७ लाख २५ हजार रुपैयाँ)मा अनुबन्ध भएकाछन् ।

सन्दीप पहिलो पटक यति महँगो मूल्यमा लिगमा अनुबन्ध भएका हुन् । द हन्ड्रेडको फाइनल म्याच २१ अगस्टमा हुनेछ ।

सन्दीपआवद्ध ओभलले आफ्नो पहिलो म्याच २२ जुलाईमा खेल्दैछ । उसले उद्घाटन खेलमा म्यानचेस्टरको सामना गर्नेछ ।

सन्दीपले यही ९ जुनदेखि सुरु भएको इंग्ल्याण्डकी टी-२० ब्लास्ट भने गुमाएका थिए । सो प्रतियोगिता भने उनले भिसाको ढिलाईले गुमाएका हुन् ।

ब्लास्टमा उनलाई वर्सेस्टसायर र्‍यापिडले अनुबन्ध गरेको थियो ।

भिसा ढिलाईले गर्दा र्‍यापिडले सन्दीपको स्थानमा न्यूजिल्याण्डका इश सोढीलाई अनुबन्ध गरेको थियो ।

Loading...