मुल्तानले जित्यो PSL को उपाधि, यी खेलाडी बने जितका ‘हिरो’

काठमाडौं । पाकिस्तान सुपर लिग (पीएसएल) छैटौँ संस्करणको उपाधि मुल्तान सुल्तानले जितेको छ ।

गएराति सम्पन्न फाइनल खेलमा पेशावर जल्मीलाई ४७ रनले हराउँदै पहिलो पटक मुल्तानले पीएसएलको उपाधि जितेको हो ।

पेशावर भने दोस्रो पटक उपाधि जित्न चुक्यो । उसले अन्तिम पटक २०१७ को पीएसएल ट्रफी हात पारेको थियो ।

फाइनलमा मुल्तानले दिएको २ सय ७ रनको विशाल लक्ष्य पछ्याएको पेशावरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ५९ रन मात्र बनाउन सक्यो ।

उसका लागि सोयब मलिकले ४८, कमरन अकमलले ३६, रोभम्यान पावेलले २३ र शेरफन रदरफोर्डले १८ रन बनाए ।

बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।

बलिङमा इमरान ताहिरले तीन, ब्लेसिङ मुजारबानी, इमरान खानले दुई/दुई र सोहेल तनवीरले एक विकेट लिए ।

त्यसअघि, यूएईको आबुधाबीस्थित शेख जायद स्टेडियममा टस हारेर ब्याटिङको मौका पाएको मुल्तानले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २०६ रन बनायो ।

उसका लागि शान मसुद र मोहम्मद रिजवानले ६८ रनको ओपनिङ साझेदारी गरे । मसुद ३७ र कप्तान रिजवान ३० रनमा आउट भए ।

उनीहरू आउट भएपछि मैदानमा आएका सोहेब मक्सूद र राइलो रोस्सोले आक्रामक ब्याटिङ गरे । उनीहरूबीच ९८ रनको उत्कृष्ट साझेदारी बन्यो ।

मक्सूदले ३५ बलमा अविजित ६५ र रोस्सोले २१ बलमा ५० रन बनाए । खुशदील साह १५ रनमा अविजित रहे ।

बलिङमा पेशावरका समीन गुल र मोहम्मद इमरान दुई/दुई विकेट लिए ।

पहिलो क्वालिफायरमा मुल्तानले इश्लामावाद युनाइटेडलाई ३१ रनले हराउँदै फाइनलमा स्थान बनाएको थियो ।

पेशावरले दोस्रो इलिमीनेटरमा इश्लामावादलाई नै पराजित गर्दै फाइनलमा स्थान पक्का गर्न सफल भएको थियो ।

Loading...