नेपालले अब कहिले खेल्न क्रिकेट? यस्तो छ क्यानको योजना

काठमाडौं- आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत हुने त्रिकोणात्मक सिरिज स्थगित भएसँगै नेपालले तत्काल बन्द प्रशिक्षण पनि स्थगित गर्ने भएको छ ।

आईसीसीले कोरोनाको कारण देखाउँदै नेपालसहित नामिबिया, स्कटल्याण्ड र नेपालबीचको वानडे सिरिज २०२२ को जुलाईसम्मका लागि स्थगित गरेको हो ।

नामिबियाको टिमका खेलाडीलाई कोरोना पुष्टि भएपछि तत्काल यो सिरिज गर्न गाह्रो भएको आईसीसीले जनाएको छ ।

सिरिज आगामी साउन ५ बाट सुरु भएर साउन १५ मा सकिने तय थियो । सिरिज दक्षिण स्पेनको डेजर्ट स्प्रिङ्ग्स मैदानमा हुने तय थियो ।

यो मैदानले केहीअघि मात्र एकदिवसीय मैदानको मान्यता पाएको थियो ।

अब के गर्छ क्यान?

नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले अन्तिम समयमा सिरिज स्थगित हुँदा यसको असर पर्ने बताए ।

‘सबै कुराले असर परेको छ । सबै तयारी सुरु गरिसकेका थियौं । कोच आएर ट्रेनिङ हुन थालिसकेको थियो । मानसिक रूपमा असर परेको छ,’ अध्यक्ष चन्दले भने, ‘अब गतिविधिहरू हुन्छ भन्ने भएर नै क्यान पनि अगाडि बढेको थियो । सबै कुरामै असर गरेको छ ।’

उनले लिग-२ सिरिज रोकिए पनि नेपाल र स्कटल्याण्डको दुई पक्षीय सिरिज खेल्नका लागि पहल गरे पनि सम्भव नभएको बताए ।

‘अब यसका लागि फण्ड पनि भएन,’ उनले भने ।

गत मार्चमा स्थगित भएको ओमानमा हुने सिरिजको अर्को मिति नआइसकेकाले नेपालले खेल्ने अर्को ५० ओभरको क्रिकेट अब २०२२ मा मात्र छ ।

सन् २०२२ फेब्रुअरीमा नेपालले घरेलु मैदानमै लिगको त्रिकोणात्मक सिरिज खेल्ने तालिका छ । जसमा नेपाल, यूएई र पपुवा न्युगिनीले खेल्नेछन् ।

अध्यक्ष चन्दले मार्चमा स्थगित भएको नेपाल, ओमान र अमेरिकाबीचको सिरिज यही २०२१ मा गर्ने प्रस्ताव भएको तर निर्णय नभएको बताए ।

‘सेप्टेम्बरमा ओमानको सिरिज गर्ने प्रस्ताव भएको छ । भारतमा टी-२० विश्वकप हुन्छ भने त्यो सिरिज पनि गर्नेबारे छलफल भएको छ,’ उनले भने ।

यदि ओमानको सिरिज हुने अवस्था आएमा भने नेपालले दुई महिनापछि नै ५० ओभरको क्रिकेट खेल्न पाउने सम्भावना देखिएको छ ।

Loading...