नेपाल फर्किनेबारे पृथुले दिए प्रतिक्रिया

काठमाडौं- नेपाली क्रिकेट टिमका ब्याट्सम्यान पृथु बास्कोटा अहिले अमेरिकामा छन् । उनी घरेलु प्रतियोगिता खेल्नका लागि अमेरिकामा रहेका हुन् ।

केही दिनअघि नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी विश्वकप क्रिकेट लिग-२ का लागि प्रारम्भिक टोली घोषणा गरेको थियो ।

सो टोलीमा पृथुको नाम पनि थियो । उनले तत्काल उपस्थित हुन नसक्ने बताउँदै बन्द प्रशिक्षणमा भाग नलिने बताएका थिए ।

‘क्रिकेट खेल्न आएको थिए । तर, दुर्भाग्य नेपालको लकडाउन र फ्लाइट समस्याले गर्दा समयमै नेपाल फर्कन सकेको छैन,’ पृथुले एक युट्युब च्यानलसँगको कुराकानीमा भनेका छन् ।

उनले कोरोना खोपको डोज लगाउन बाँकी नै रहेकाले पनि तत्काल नेपाल फर्किने नसकेको बताए ।

बन्द प्रशिक्षणका लागि बोलाउँदा पनि उपस्थित हुन नसक्ने बताएपछि धेरैले पृथुको बारेमा चिन्ता व्यक्त गर्नुका साथै आलोचना गरेका थिए ।

समर्थकको यो चिन्ता र आलोचनाप्रति पृथु सकारात्मक नै छन् । उनले आफू अमेरिकामा क्रिकेट खेल्न मात्र आएको प्रतिक्रिया दिए ।

‘क्यालिफोर्नियामा म्याच भएकाले म अमेरिका आएको हो । यहाँ बस्नका लागि आएको होइन । समर्थकले चिन्ता गरेकोमा खुसी छु,’ पृथुले भने ।

अथक मिहिनेतले आफू यो स्थानमा पुगेको बताउँदै उनले समयमै बन्द प्रशिक्षणमा सहभागी हुन नपाउँदा दु:ख लागेको समेत बताए ।

पृथुले उडान सहज हुने बित्तिकै नेपाल फर्किने बताए ।

‘फ्लाइट उपलब्ध हुने बित्तिकै नेपाल फर्किन्छु । म नेपालका लागि खेल्न सधैँ तयार छु, यसपालि चाहिँ वातावरण अनुकूल नहुँदा समयमै फर्किन सकेन,’ उनले भने ।

पृथुले आफू अनुपस्थित हुने भनिएको बन्द प्रशिक्षण भने स्थगितको संघारमा छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले कोरोनाको कारण देखाउँदै जुलाई तेस्रो साता हुने त्रिकोणात्मक सिरिज स्थगित गरेको छ ।

आईसीसीले नामिबियाका खेलाडी कोरोना संक्रमित हुन थालेपछि सिरिज स्थगित गरिएको जनाएको छ ।

सिरिज आगामी साउन ५ बाट सुरु भएर साउन १५ मा सकिने तय थियो । सिरिज दक्षिण स्पेनको डेजर्ट स्प्रिङ्ग्स मैदानमा हुने तय थियो ।

यो मैदानले केहीअघि मात्र एकदिवसीय मान्यता पाएको थियो ।

Loading...