बन्द प्रशिक्षण स्थगित भए पनि अभ्यास नरोकिने, यस्तो छ आगामी यात्रा

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी विश्वकप लिग-२ अन्तर्गत हुने भनिएको सिरिजका लागि बोलाएको बन्द प्रशिक्षण स्थगित गरेको छ ।

क्यानले आज एक अपडेट जारी गर्दै बन्द प्रशिक्षण स्थगित गर्ने जनाएको हो ।

यद्यपि, टीयू मैदानमा प्रमुख प्रशिक्षक डेभ ह्टमोर र फिजियो बिक्रम न्यौपानको निगरानीमा खेलाडीले सानो समूह बनाएर अभ्यास भने कायमै राख्ने क्यानले जनाएको छ ।

‘क्यानले आजदेखि राीष्ट्रय क्रिकेट टिमको बन्द क्याम्पलाई स्थगित गरेको छ,’ क्यानले सूचना जारी गर्दै भनेको छ, ‘यद्यपि खेलाडीहरूले कोचिड प्रोटोकलअनुसरण गर्दै मुख्य कोच डेभ व्हाटमोर र फिजियो विक्रम न्यौपानेको सुपरिवेक्षणमा टीयू मैदानमा सानो समूहमा अभ्यास भने जारी राख्नेछन् ।’

आईसीसीले कोरोनाको कारण देखाउँदै नेपालसहित नामिबिया, स्कटल्याण्ड र नेपालबीचको वानडे सिरिज २०२२ को जुलाईसम्मका लागि स्थगित गरेपछि क्यानले पनि तत्काललाई बन्द प्रशिक्षण स्थगित गरेको हो ।

नामिबियाको टिमका खेलाडीलाई कोरोना पुष्टि भएपछि तत्काल यो सिरिज गर्न गाह्रो भएको आईसीसीले जनाएको छ ।

सिरिज आगामी साउन ५ बाट सुरु भएर साउन १५ मा सकिने तय थियो । सिरिज दक्षिण स्पेनको डेजर्ट स्प्रिङ्ग्स मैदानमा हुने तय थियो ।

यो मैदानले केहीअघि मात्र एकदिवसीय मैदानको मान्यता पाएको थियो ।

क्यानका अध्यक्ष चतुरबहादुर चन्दले अन्तिम समयमा सिरिज स्थगित हुँदा यसको असर पर्ने बताए ।

‘सबै कुराले असर परेको छ । सबै तयारी सुरु गरिसकेका थियौं । कोच आएर ट्रेनिङ हुन थालिसकेको थियो । मानसिक रूपमा असर परेको छ,’ अध्यक्ष चन्दले भने, ‘अब गतिविधिहरू हुन्छ भन्ने भएर नै क्यान पनि अगाडि बढेको थियो । सबै कुरामै असर गरेको छ ।’

उनले लिग-२ सिरिज रोकिए पनि नेपाल र स्कटल्याण्डको दुई पक्षीय सिरिज खेल्नका लागि पहल गरे पनि सम्भव नभएको बताए ।

‘अब यसका लागि फण्ड पनि भएन,’ उनले भने ।

गत मार्चमा स्थगित भएको ओमानमा हुने सिरिजको अर्को मिति नआइसकेकाले नेपालले खेल्ने अर्को ५० ओभरको क्रिकेट अब २०२२ मा मात्र छ ।

सन् २०२२ फेब्रुअरीमा नेपालले घरेलु मैदानमै लिगको त्रिकोणात्मक सिरिज खेल्ने तालिका छ । जसमा नेपाल, यूएई र पपुवा न्युगिनीले खेल्नेछन् ।

अध्यक्ष चन्दले मार्चमा स्थगित भएको नेपाल, ओमान र अमेरिकाबीचको सिरिज यही २०२१ मा गर्ने प्रस्ताव भएको तर निर्णय नभएको बताए ।

‘सेप्टेम्बरमा ओमानको सिरिज गर्ने प्रस्ताव भएको छ । भारतमा टी-२० विश्वकप हुन्छ भने त्यो सिरिज पनि गर्नेबारे छलफल भएको छ,’ उनले भने ।

यदि ओमानको सिरिज हुने अवस्था आएमा भने नेपालले दुई महिनापछि नै ५० ओभरको क्रिकेट खेल्न पाउने सम्भावना देखिएको छ ।

Loading...