युरोकप फुटबलबारे के भन्छन् क्रिकेट कप्तान मल्ल?

काठमाडौं : युरोकप फुटबलमा आजदेखि नकआउट चरणका म्याच हुँदैछन्। अब झन् प्रतियोगितामा रोमाञ्चक हुने अनुमान छ। नकआउट चरणका म्याचहरू नेपाली समयअनुसार रातिको समयमा छन्।

अन्तिम १६ मा पुगेका टोलीबीच कडा प्रतिस्पर्धा हुने अनुमान छ। नेपाली समर्थकमाझ पनि युरोकप निकै लोकप्रिय छ। सकेसम्म समर्थक आफ्नो मनपर्ने टोलीको म्याच छुटाइरहेका छैनन्।

समर्थक मात्र नभएर खेलाडी पनि आफूलाई मनपर्ने खेलाडी र टोलीको म्याच हेर्न छुटाइरहेका छैनन्। नेपाली क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लले पनि आफूलाई मनपर्ने टोलीको म्याच प्रायः छुटाउँदैनन् ।

अहिले राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षण चलिरहेको छ। त्यसैले मल्लले युरोकपका सबै खेल हेर्न पाएको छैन। त्यसैमा पनि युरोकपका खेलहरू राति हुने भएकाले सबै खेल हेर्न उनी भ्याउँदैनन्।

उनले प्रतियोगिता सुरु भएको केही दिन साँझ ६ः४५ र राति ९ः१५ का खेलहरू हेरेका थिए। तर, थकान र अन्य कारणले १२ः४५ को खेल भने खासै हेर्न नपाएको उनी बताउँछन्। राती हेर्न नपाएका खेल उनी भोलिपल्ट बिहानै हाइलाइट्स हेर्ने गरका छन्।

‘युरोकप सुरुवातबाटै मनपर्ने प्रतियोगिता हो। मैले सन् २००४ को युरोकपदेखि यो प्रतियोगिता हेरेको याद छ। त्यसवेला पोर्चुगल र ग्रिसले फाइनलमा उपाधि भिडन्त गरेका थिए,’ उनले भने, ‘पोर्चुगलको टोलीमा लुइस फिगोलगायत खेलाडी थिए। मैले त्यसवेला ग्रिसको समर्थन गरेको थिएँ। ग्रिसलाई मन पराउनुको खास कारण त केही थिएन। ग्रिस ‘अन्डर डग’ टोली थियो। सायद मलार्ई अन्डर डग टोलीलाई समर्थन गर्नुपर्छ भन्ने परेको थियो।’

सो समयमा उक्त प्रतियोगिता ग्रिसले नै जितेको थियो । त्यसवेलादेखि नै उनी युरोकप नियमितजस्तै हेर्दै आइरहेका छन्।

‘युरोकपमा मनपर्ने टोली छैन’

युरोकपमा आफ्नो मनपर्ने टोली नभएको उनी बताउँछन्। युरोपमा विश्व च्याम्पियन टोलीहरू छन्। युरोकपका खेलहरू प्रतिस्पर्धात्मक लाग्ने भएकोले मिलेसम्म हेर्ने गरेको बताउँछन् उनी।

यसपटक पनि नकआउट चरणदेखिका खेलहरू हेर्ने योजनामा उनी रहेका छन्। यही समय कोपा अमेरिका पनि चलिरहेको छ । कोपा अमेरिकामा उनलाई मन पर्ने टोली ब्राजिल हो। ‘अमिल्दो समयका कारण कोपा अमेरिकाको खेल झनै हेर्न पाएको छैन। कोपा अमेरिकाको खेल पनि बिहान उठेर हाइलाइट्स हेर्ने गरेको छ,’ उनले भने।

कोरोना भाइरस (कोभिड–१९) ले विश्व मानव जीवनलाई नै संकटमा पारेको यो विषम परिस्थितिमा यी प्रतियोगिताहरू आयोजना हुन् खुसीको कुरा भएको उनको भनाइ छ।

यी प्रतियोगिता आयोजना गर्न धेरै सावधानी अपनाइएको छ। भ्याक्सिन आएपछि र संक्रमण नियन्त्रणका धेरै उपाय अपनाएर यी प्रतियोगिता आयोजना भएका छन्,’ उनले भने, ‘यस्ता प्रतियोगिता आयोजना हुँदा पहिले सुरक्षा महत्वपूर्ण हो। अहिलेको यो कठिन परिस्थितिमा आयोजना भएका यी प्रतियोगिता खेलको मज्जासँगै पीडा भुलाउने माध्यम पनि दिएको छ।’

Loading...