भारतविरुद्ध इंग्ल्याण्डको फराकिलो जित, रच्यो इतिहास

काठमाडौं- भारतसँगको एकदिवसीय महिला सिरिजको पहिलो खेलमा इंग्ल्याण्ड ८ विकेटले विजयी भएको छ ।

भारतसँगको जितसँगै इंग्ल्याण्ड महिला टिमले इतिहास रचेको छ । उसले घरेलु मैदानमा १ सयौँ वानडे म्याच जित्दै इतिहास रचेको हो ।

भारतले दिएको २ सय २ रनको लक्ष्य इंग्ल्याण्डले ३४.५ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो ।

उसका लागि टमी बीउमन्ट र नेट साइवरले उत्कृष्ट ब्याटिङ गरे । टमीले ८७ बलमा १२ चौका र एक छक्कासहित अविजित ८७ रन बनाइन् ।

त्यस्तै, साइवरले ७४ बलमा १० चौका र एक छक्कासहित नटआउट ७४ रनको योगदान दिइन् ।

कप्तान हिदर नाइट १८ र लरेन विनफिल्ड हिल भने १६ रनमै आउट भइन् ।

बलिङमा झुलन गोस्वामी र एकता भाटले एक/एक विकेट लिइन् ।

त्यसअघि टस हारेर ब्याटिङको मौका पाएको भारतले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय १ रन बनायो ।

उसका लागि कप्तान मिताली राजले अर्धशतकीय पारी खेलिन् । उनले १ सय ८ बलमा ७ चौकाको मद्दतमा ७२ रन बनाइन् ।

त्यस्तै, पुनम राउत ३२, दिप्ती शर्मा ३०, शेफाली वर्मा, पुजा भास्कर १५/१५ र स्मृति मान्धनाले १० रनको यागदान दिइन् ।

बाँकीले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।

बलिङमा सोफी एक्लेस्टोनले तीन, अन्या श्रब्सोल-क्याथरिन ब्रन्टले दुई/दुई र केट क्रसले एक विकेट हात पारिन् ।

आजको जितसँगै तीन खेलको वानडे सिरिजमा घरेलु टोली इंग्ल्याण्डले १-० को अग्रता बनाएको छ ।

यी दुई टोलीबीचको दोस्रो एकदिवसीय म्याच ३० जुनमा हुनेछ । टेष्ट म्याचपछि इंग्ल्याण्ड र भारतीय महिला टिमले एकदिवसीय सिरिज खेलिरहेका हुन् ।

Loading...