निलम्बनमा परेका पाकिस्तानी क्रिकेटरले ‘अम्पायर कोर्स’का लागि दिए आवेदन

काठमाडौं- पाकिस्तानका पूर्वओपनर सलमान बटलाई म्याच फिक्सिङको आरोपमा २०१० मा करीव १० वर्षको लागि क्रिकेटबाट प्रतिबन्ध लगाइएको थियो।

लामो समय क्रिकेटका लागि मैदान नफर्किएका उनले पाकिस्तान क्रिकेट बोड (पीसीबी)को अम्पायरिङ र म्याच रेफ्री कोर्सको लागि आवेदन दिएका छन्।

क्रिकेट पाकिस्तानको रिपोर्टका अनुसार अब्दुल रौफ, बिलाल आसिफ, सलमान बट र शोएब खानलगायत थुप्रै खेलाडीले अम्पायर र म्याच रेफ्री कोर्सका लागि आवेदन दिएका हुन् ।

प्रतिवेदनमा भनिएको छ ,‘पीसीबीले म्याच अधिकारी तयार गर्न तीन स्तर १, २ र ३ मा अम्पायर र म्याच रेफ्री कोर्स सुरु गरेको छ। कार्यक्रमको पहिलो चरण समाप्त भइसकेको छ। जसमा उपस्थित उम्मेदवारले अम्पायरिङ नियमका बारेमा अनलाइनबाट जानकारी दिएका छन्।’

सन् २०१० मा लर्ड्समा भएको इंग्ल्यान्डबिरुद्धको टेस्ट खेलमा म्याच फिक्सिङमा सहभागी भएका मध्ये बट पनि एक खेलाडी थिए।

यस घोटालामा संलग्न भएकोमा बट बाहेक तीव्र गतिका बलर मोहम्मद अमीर र मध्यम गतिका बलर मोहम्मद आसिफलाई पनि सजाय दिइएको थियो।

फेब्रुअरी २०१६ मा आमिर पाकिस्तानी टीममा फर्किए पनि बट र आसिफ त्यसपश्चात कहिले पनि राष्ट्रिय टोलीका लागि खेलेनन्।

त्यस समयमा पाकिस्तानी टोलीका कप्तान स्वयम् बट थिए। बट आजकल युट्यूबमा क्रिकेट विश्लेषण गरिरहेका देखिन्छन्।

उनले भारतीय खेलाडीका लागि धेरै प्रतिक्रिया पनि दिएका छन्।

उनले रोहित शर्मा विराट कोहलीभन्दा राम्रो कप्तान भएको समेत बताएका थिए। ओपनरको रूपमा पनि उनले रोहित शर्मालाई सर्वश्रेष्ठ बताउँदै आएका छन्।

Loading...