इंग्ल्याण्डको शानदार जित, रुटको कीर्तिमानी प्रदर्शन

काठमाडौं- श्रीलंकासँगको एकदिवसीय सिरिजको पहिलो खेलमा घरेलु टोली इंग्ल्याण्ड ५ विकेटले विजयी भएको छ ।

चेस्टर-ले-स्ट्रीटमा भएको खेलमा श्रीलंकाले दिएको १ सय ८६ रनको लक्ष्य इंग्ल्याण्डले ३४.५ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो ।

उसका लागि ब्याट्सम्यान जो रुटले उत्कृष्ट पारी खेले । उनले ८७ बलमा चार चौकासहित नटआउट ७९ रन बनाए । वानडेमा रुटको यो ३४औँ अर्धशतक हो ।

त्यस्तै, जोनी बेयरिस्टोले ४३, मोइन अलीले २८, लियाम लिभिङस्टोनले ९, कप्तान इयोन मोर्गनले ६, साम बिलिङ्सले तीन र साम करनले अविजित ९ रनको योगदान दिए ।

बलिङमा दुश्मन्था चामेराले तीन, विन्रुवा फर्नान्डो र चमिका करुणारत्नले एक/एक विकेट लिए ।

त्यसअघि, टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलंका ४२.३ ओभरमा १ सय ८५ रनमै समेटिएको हो ।

उसका लागि कप्तान कुशल परेरा र अलराउन्डर वानिन्दु हसरंगाले अर्धशतकीय पारी खेले ।

परेराले ८१ बलमा सात चौकासहित ७३ र हसरंगाले ६५ बलमा एक छक्का र ६ चौकाको मद्दतमा ५४ रन बनाए ।

परेरा र हसरंगाबीच १२४ बलमा ९९ रनको साझेदारी बन्यो । हसरंगा र परेरा आउट भएपछि भने श्रीलंकाका कुनै पनि ब्याट्सम्यान मैदानमा टिक्न सकेनन् ।

श्रीलंकाका ८ ब्याट्सम्यानले दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।

बलिङमा क्रिस वोक्सले उत्कृष्ट प्रदर्शन गरे । उनले १० ओभरमा ५ मेडनसहित १८ रन खर्चेर चार विकेट लिए ।

त्यस्तै, डेविड बिलिले तीन र मोइन अलीले एक विकेट लिए ।

आजको जितसँगै तीन खेलको सिरिजमा इंग्ल्याण्डले १-० को अग्रता बनाएको छ । यी दुई टोलीबीचको दोस्रो वानडे म्याच बिहीबार हुनेछ ।

रुटले बनाए कीर्तिमान

इंग्ल्याण्ड टोलीका अनुभवी ब्याट्सम्यान जो रुटले नयाँ उपलब्धि हासिल गरेका छन् ।

उनले इंग्ल्याण्डको तर्फबाट एकदिवसीय क्रिकेटमा सर्वाधिक छिटो ६ हजार रन पूरा गर्ने ब्याट्सम्यानको उपलब्धि हासिल गरेका हुन् ।

आज श्रीलंकाविरुद्ध ७९ रन बनाएसँगै रुटले यो उपलब्धि हासिल गरे । उनले १४१ वानडे इनिङ्समा ६ हजार रन पूरा गरेका हुन् ।

यसअघि इंग्ल्याण्डका लागि वानडेमा कुनै पनि ब्याट्सम्यानले १४१ वानडे पारीमा ६ हजार रन पूरा गरेका थिएनन् ।

अब भने रुटले इंग्ल्याण्डका लागि इतिहास रचेका छन् ।

वानडेमा सर्वाधिक कम पारी खेल्दै ६ हजार रन पूरा गर्ने कीर्तिमान भने दक्षिण अफ्रिकाका पूर्वब्याट्सम्यान हासिम अमलाको नाममा छ । उनले १२३ पारीमा ६ हजार रन पूरा गरेका थिए ।

यो सूचीको दोस्रो, तेस्रो र चौथो स्थानमा क्रमशः विराट कोहली (भारत), केन विलियम्सन (न्यूजिल्याण्ड) र वेष्ट इण्डिजका भिभियन रिचर्ड्सको नाम आउँछ ।

विराटले १३६, विलियम्सनले १३९ र रिचर्ड्सले १४१ पारीमा वानडेमा ६ हजार रन पूरा गरेका थिए । अब यो सूचीको पाँचौ स्थानमा रुटको नाम आएको छ ।

Loading...