वेष्ट इण्डिजविरुद्ध द. अफ्रिकाको रोमाञ्चक जित, यी खेलाडी बने जितका ‘हिरो’

काठमाडौं । वेष्ट इण्डिजसँँगको टी-२० सिरिजको तेस्रो खेलमा पाहुना टोली दक्षिण अफ्रिका एक रनले विजयी भएको छ ।

योसँगै पाँच खेलको सिरिजमा द. अफ्रिकाले २-१ को अग्रता बनाएको छ ।

गएराति भएको खेलमा १ सय ६८ रनको लक्ष्य पछ्याएको वेष्ट इण्डिजले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६६ रन बनायो ।

उसका लागि इभन लुईसले २७, निकोलश पूरनले २६, आन्द्रे रसेलले २५, शिमरन हेटमायरले १७, लिन्डल सिमन्सले २२, जेसन होल्डरले १६ र फाबियन आलेनले अविजित ९ रन बनाए ।

बलिङमा एनरिक नोर्टजे, तबरेज शाम्सीले दुई/दुई, कागिसो रबाडा, लुन्गी एनगिडी र जर्ज लिन्डेले एक/एक विकेट लिए ।

त्यसअघि, नेशनल क्रिकेट स्टेडियम ग्रेनेडामा टस हारेर ब्याटिङको मौका पाएको द. अफ्रिकाले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ६७ रन बनायो ।

उसका लागि ओपनर तथा विकेटकिपर क्विन्टन डीककले ५१ बलमा पाँच चौका र दुई छक्कासहित सर्वाधिक ७२ रन बनाए ।

त्यस्तै, रस्सीभान डर डुसेनले ३२, एडेन माक्ररमले २३ र रिजा हेनड्रिक्सले १७ रन बनाए । बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।

बलिङमा ओबेद म्याककोयले चार र ड्वेन ब्रावो तीन विकेट लिए । वेष्ट इण्डिज र दक्षिण अफ्रिकाबीचको चौथो खेल बिहीबार हुनेछ ।

Loading...