चलेन बेन स्टोक्सको ब्याट, नाबीको टोलीविरुद्ध डरहम पराजित

काठमाडौं- इंग्ल्याण्डमा जारी टी-२० ब्लास्टअन्तर्गत नर्थह्याम्टनशायरविरुद्ध डरहम ३० रनले पराजित भएको छ ।

गएराति सम्पन्न खेलमा नर्थह्याम्टनशायरले दिएको १ सय ७४ रनको लक्ष्य पछ्याएको डरहमले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १ सय ४३ रन मात्र बनाउन सक्यो ।

उसका लागि श्यान डिक्सन, मट्टी पोट्सले ४०-४०, स्टक बोर्थविकले २६ रन बनाए । बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा रन जोड्न सकेनन् ।

चर्चित अलराउन्डर बेन स्टोक्स नर्थह्याम्टनशायरविरुद्ध शून्य रनमै आउट भए ।

बलिङमा ग्रीम ह्वाइटले चार, मोहम्मद नाबी, टम टेलरले दुई-दुई र ब्रान्डन ग्लोभरले एक विकेट लिए ।

त्यसअघि, टस हारेर ब्याटिङको मौका पाएको नर्थह्याम्टनशायरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ७३ रन बनायो ।

उसका लागि ओपनिङ ब्याट्सम्यान रिकार्डो वास्कोन्क्लोस र बेन करनले आफ्नो टिमलाई उत्कृष्ट सुरुवात दिलाए ।

यी दुवै खेलाडीले आफ्नो टिमको लागि अर्धशतकीय पारी खेले ।

बेनले ३३ बलमा ११ चौका र एक छक्काको मद्दतमा ६२ रन बनाए । त्यस्तै, रिकार्डोले पनि उत्कृष्ट ब्याटिङ गर्दै ४५ बलमा सात चौका र एक छक्काको मद्दतमा ६० रन बनाए ।

त्यस्तै, कप्तान जोश कोबले ११ रन र सैफ जैबले अविजित २१ रनको योगदान दिए । बाँकी ब्याट्सम्यानले दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।

बलिङमा बेन स्टोक्सले दुई, बेन राइन, ज्याक क्याम्पबेल र म्याट्टि पोट्सले एक/एक विकेट हात पारे ।

योजितसँगै नर्थह्याम्टनशायर अंक तालिकाको छैटौँ स्थानमा उक्लिएको छ । उसले ११ म्याच खेल्दा चारमा जित हासिल गरेको छ ।

डरहमले भने १० म्याचमध्ये ५ खेलमा जित हात पारेको छ । उसले चार खेलमा हारको सामना गर्दा एक खेलमा अंक बाँडेको छ ।

Loading...